जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाप्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन ‘एकद्वार प्रणाली’ लागू गरेपछि सेवाग्राहीले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा छोटो समयमै पाउन थालेका छन् । लामो लाइन, भनसुन र पटक–पटक कार्यालय धाउनुपर्ने पुरानो झन्झट हट्दै गएपछि प्रशासनप्रति नागरिकको भरोसा पनि बढ्न थालेको छ।
नयाँ प्रणाली लागू भएसँगै प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै कक्षमार्फत सेवा पाउने व्यवस्था गरिएको छ । आवश्यक कागजात पूरा भएका सेवाग्राहीले पाँचदेखि १० मिनेटभित्रै नागरिकता पाउन थालेको प्रशासनको दाबी छ ।
यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्किनुपर्ने र कतिपय अवस्थामा होटलमै बस्नुपर्ने अवस्था थियो । अहिले भने टोकन प्रणाली लागू भएसँगै काम छिटो र व्यवस्थित हुन थालेको सेवाग्राही बताउँछन् ।
पुतलीबजार नगरपालिका–१ प्रगतिनगरका शंकर ताम्राकारले पहिले प्रशासन जानु भनेको पूरा दिन छुट्याउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले केही मिनेटमै काम सकिने वातावरण बनेको बताउनुभयो। “पहिला लाइनमा बस्दा दिन नै बित्थ्यो, अहिले टोकन लिएपछि पालो आउँछ र काम छिट्टै हुन्छ,” उहाँले भन्नुभयो ।
सेवाग्राहीलाई झन्झटरहित, पारदर्शी र समान पहुँचसहितको सेवा दिन एकद्वार प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार टोकन प्रणाली सुरु भएपछि अनावश्यक भीड र लाइन हटेको छ भने सेवामा बिचौलियाको प्रभाव समेत कम भएको छ ।
“पहिले झ्यालबाट फाइल दिने क्रममा पालो हेरफेर हुने, भनसुन चल्ने र सेवाग्राही अन्योलमा पर्ने समस्या थियो,” प्रजिअ अर्यालले भन्नुभयो, “अहिले एकै ठाउँबाट प्रक्रिया अघि बढ्ने भएकाले सेवामा सहजता आएको छ ।”
प्रशासनले नागरिकता शाखामा रहेका छुट्टाछुट्टै कक्षलाई पुनःसंरचना गरेर एउटै सेवा कक्ष बनाएको छ । सेवाग्राहीलाई लाइनमा उभ्याउनुको सट्टा कुर्चीमा बसेर पालो कुर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा पनि यही प्रणाली लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले कागजात पूरा भएका सेवाग्राहीलाई १० मिनेटमै सेवा दिन सकिने अवस्था बनेको बताउनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रक्रिया पुनःसंरचना गरिएको हो ।
दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया थप सहज बनेको नायब सुब्बा रामप्रसाद पौडेलले बताउनुभयो ।
प्रशासन कार्यालयमा सेवा लिन पुगेकी पुतलीबजार नगरपालिका–१४ की संगिता ढकालले आफूले पहिले लामो समय लाइन बसेर नागरिकता लिएको अनुभव सुनाउँदै अहिले छोराको नागरिकता भने कागजात पेश गरेलगत्तै प्राप्त गरेको बताउनुभयो । अर्जुनचौपारी गाउँपालिका–४ राम्चेकी अर्पिता चापागाईंले पनि आवश्यक कागजात मिलाएपछि छोटो समयमै नागरिकता पाएको अनुभव सुनाउनुभयो ।
यस्तै, भीरकोट नगरपालिका–१ का हबिव खानका अनुसार अहिले प्रशासनमा कसैलाई भनसुन गर्नुपर्ने अवस्था हट्दै गएको छ । “आफ्नो पालो आउँछ र काम हुन्छ, यही नै सबैभन्दा ठूलो परिवर्तन हो,” उहाँले भन्नुभयो।
भौगोलिक रूपमा विकट बस्तीहरू रहेको स्याङ्जामा गाउँबाट सदरमुकाम पुग्न नागरिकले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एउटै दिनमा काम सकिने वातावरण बनेपछि टाढाबाट आउने सेवाग्राहीलाई समेत ठूलो राहत पुगेको छ ।
प्रशासनले सीमित स्रोत र जनशक्तिकै प्रयोगबाट सेवा सुधारको प्रयास सफल भएको जनाएको छ । मालपोत कार्यालयपछि जिल्लामा एकद्वार प्रणाली लागू गर्ने जिल्ला प्रशासन कार्यालय दोस्रो कार्यालय बनेको बताइएको छ ।
लामो समयदेखि सरकारी कार्यालयमा ‘पहुँच’ र ‘चिनजान’ को प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा स्याङ्जा प्रशासनले सुरु गरेको यो अभ्यासलाई अहिले सेवामैत्री शासनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।