नेभिगेशन
समाचार

वक्तृत्वकला प्रतियोगितामा पिपलडाँडा मा.वि. प्रथम

नेपाल रेडक्रस सोसाइटी महापूर शाखाको आयोजनामा “विपदमा  रेडक्रसको भूमिका” विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। महापुर शाखा  अन्तर्गतका सात माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पिपलडाँडा माध्यमिक विद्यालयका बुद्ध रेग्मी प्रथम हुन सफल हुनुभएको छ।

1000061428-1780032669.jpg
प्रतियोगितामा बालोदय आवासीय माध्यमिक विद्यालयकी सुविधा थापा द्वितीय, महेन्द्र ज्योति माध्यमिक विद्यालयकी अंकिता रोकाहा तृतीय तथा भाग्योदय माध्यमिक विद्यालयकी सौजन्या रेग्मी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ। विजेताहरूलाई क्रमशः नगद रु. २ हजार ५ सय, रु. १ हजार ८ सय, रु. १ हजार २सय  र रु. ५ सय  सहित स्टेशनरी सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक रिबन कुमार विश्वकर्माले जानकारी दिनुभयो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले विपद्को समयमा रेडक्रसले खेलेको भूमिका, मानवीय सहायता, उद्धार तथा राहतका कार्य, स्वयंसेवकको महत्व र समाजमा सेवाभावको आवश्यकता विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाका सभापति दिनेश अर्यालले  विद्यार्थीहरूलाई  सानै उमेरदेखि सेवा, सहयोग र मानवताको भावनासँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “रेडक्रसले मानव सेवा, सहयोग र विपद्को समयमा राहत प्रदान गर्ने संस्कार सिकाउँछ । यसले विद्यार्थीमा जिम्मेवारीबोध र सेवाभाव विकास गर्न मद्दत पुग्छ ।” अर्यालले ‘विपदमा रेडक्रस’ शीर्षकले नै रेडक्रसको मूल मर्म झल्काएको बताउनुभयो। उहाँले प्राकृतिक तथा मानवीय विपद्का घटना बढ्दै गइरहेका बेला युवापुस्तालाई विपद् व्यवस्थापन र मानवीय सेवामा सचेत बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल रेडक्रस सोसाइटी महापूर शाखाका कार्यवाहक सभापति रामकृष्ण अर्यालले  विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वबारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्न एवं विद्यार्थीको सृजनात्मक क्षमता  अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा पिपलडाँडा मा.वि.का प्रधानाध्यापक रमाकान्त न्यौपाने,  भाग्योदय मा.वि.का प्रधानाध्यापक रेशमलाल खनाल, पूर्व प्रधानाध्यापक रेशम रेग्मी, कालिका मा.वि.का प्रधानाध्यापक शिव रेग्मी र भीरकोट रेडक्रस संयोजक प्रेमनारायण खनाल लगायतले विपदमा रेडक्रसको भूमिकाका विषयमा  मन्तव्य राख्नुभएको थियो।

प्रतियोगिताको मूल्याङ्कन पूर्व प्रधानाध्यापकद्वय रेशम रेग्मी र शिव रेग्मीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शाखाका सहसचिव रिबन कुमार विश्वकर्माले गर्नुभएको थियो। भाग्योदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा सहभागी वक्ताहरूले विपद् व्यवस्थापन, मानवीय सेवा तथा संकटका समयमा रेडक्रसले निर्वाह गर्ने भूमिकाबारे प्रभावकारी प्रस्तुति दिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला विकास गर्नुका साथै मानवीय सेवाप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ रहेको छ।

रेडक्रसको महापुर उपशाखाले भीरकोट नगरपालिकाको वडा नं ५,६, ७, ८  र ९ मा आफ्ना गतिविधिहरू संचालन गर्दै आएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्