नेभिगेशन
समाचार

सहभागितामूलक बजेट निर्माण गर्दै भीरकोट

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट निर्माण गर्न वडा वडामा सुझाव संकलन गर्न सुरू गरेको छ । जनचाहना अनुसारको सहभागितामूलक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जेठ १४ गतेदेखि टोल स्तरबाट समेत  राय सुझाव संकलन गरिएको योजना अधिकृत याम प्रसाद रेग्मीले जानकारी दिनुभयो  । जेठ २६ गतेसम्म सबै वडाबाट सुझाव संकलन गरिने उहाँले बताउनुभयो ।

नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन बमोजिम नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न नागरिकहरूबाट राय, सुझाव संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले स्मार्ट अखबारलाई बताउनुभयो ।

स्थानीय सरकारको योजना र बजेट निर्माण प्रक्रियामा आम नागरिकको सहभागिता बढाई  नगरवासी र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले नागरिकस्तरबाट राय, सुझाव र जनअपेक्षा संकलन गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले बजेट तथा नीति निर्माण प्रक्रियालाई थप समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन नागरिकबाट प्राप्त सुझावले थप सहयोग पुर्र्याउने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो ।

उहाँले राय सुझाव डिजिटल माध्यमबाट पनि पठाउन सकिने बताउनुभएको छ । नीति तथा कार्यक्रमका लागि नगरपालिकाले संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचारकर्मीलाई समेत औपचारिक रूपमा सुझाव दिन अनुरोध गरेको छ ।  

यही २०८३ जेठ मसान्तसम्म नगरपालिकाको कार्यालयमा लिखित रूपमा वा नगरपालिकाको इमेल ठेगाना [email protected] वा क्युआर  स्क्यान गरी गुगल फर्म मार्फत देश विदेश जुनसुकै ठाउँमा रहेका भीरकोटका नागरिकहरूले सुझाव उपलब्ध गराउन सक्नेछन्  । नगरपालिकाले सबै नागरिकलाई राय, सुझाव र सल्लाह दिई सहभागितामूलक बजेट निर्माण प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।

सुझाव  दिनका  यो क्युआर  प्रयोग गर्न सकिन्छ ।

qr-for-suggestion-1780667627.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्