नेभिगेशन
समाज

खुमा अर्याल फाउण्डेसनद्वारा शिक्षा र स्वास्थ्यमा करिब १ करोड खर्च 

भीरकोट नगरपालिका  -७ , बल्माटामा प्रधान कार्यालय रहेको खुमा अर्याल फाउन्डेसनले जिल्लामा शिक्षा, स्वास्थ्य र खेलकुदका कल्याणकारी काममा करिब १ करोड खर्च गरेको छ। खुमा अर्याल फाउण्डेसनले  आफ्ना कार्यक्रम र संचालित गतिविधिहरुबारे जिल्ला स्थित क्रियाशिल पत्रकारहरुलाई  पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो। मंगलबार स्याङ्जा सदरमुकाम स्थित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको सभाहलमा पत्रकार सम्मेलन गरी फाउण्डेसनले संचालन गर्दै आएका गतिविधि, कार्यक्रमहरुको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेको हो ।

फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माद्वारा प्रस्तुत गरिएको आयव्यय विवरणमा आर्थिक वर्ष २०८२/८३ मा करिब ८५ लाख रुपियाँ आम्दानी तथा ९७ लाख बराबरको खर्च विवरण उल्लेख छ भने करिब ११ लाख रुपियाँ चालु आर्थिक वर्षमा सापटी तथा भुक्तानी दिन बाँकी रहेको उल्लेख छ ।

अध्यक्ष शर्माद्वारा प्रस्तुत गरिएको सो प्रतिवेदनमा फाउण्डेसनले आर्थिक वर्ष २०८२/८३ मा खासगरी शिक्षा,स्वास्थ्य,खेलकुद,विपद् तथा रोजगारीको क्षेत्रमा गरेका नविनतम् कार्यक्रमहरुको आर्थिक संँगै सम्पुर्ण कार्यक्रमिक विवरण प्रस्तुत गरिएको छ ।

अध्यक्ष शर्माका अनुसार फाउण्डेसनले स्याङ्जा जिल्लाभित्र शिक्षामा विभिन्न स्थानिय तहसंगको समन्वयमा गरिब तथा विपन्न बर्गका झण्डै २ हजार बढी विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण, कम्प्युटर तथा अन्य प्राविधिक सामग्री र शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ भने स्वास्थ्यमा बृहत् स्वास्थ्य शिविर, प्राथमिक उपचार कक्ष स्थापना लगायतका कार्यक्रमहरु गरिएको छ ।

यस्तै खेलकुद तर्फ ऐतिहासिक महत्वको प्रथम खुमा अर्याल कप टि ट्वान्टि क्रिकेट लिग २०८२ पालिका स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ भने विपद् व्यवस्थापनमा विभिन्न समयमा आपत्कालिन र अल्पकालिन डेस्क संचालन गरेको छ ।

कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले खुमा अर्याल फाउण्डेसनले गरेका सम्पुर्ण रचनात्मक कार्यक्रमहरुको प्रशंसा गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले फाउण्डेसनले गरिरहेका कार्यहरुको लागि पत्रकार महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पत्रकार महासंघ र फाउण्डेसन सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।

यसैगरी, कार्यक्रममा पुतलीबजार शिक्षा शाखा अधिकृत शोभा बस्याल, नेपाल क्रिकेट संघ स्याङ्जाका कोषाध्यक्ष अनुपम मरासिनी लगायतले आफ्ना मन्तव्यहरु व्यक्त गर्नुभएको थियो।

सम्मेलनमा पत्रकारहरूले राखेका जिज्ञासाको  फाउण्डेसनका अध्यक्ष शर्मा, सल्लाहकार श्याम प्रसाद अर्याल, संस्थापक परिवार सदस्य हिमांशु अर्याल र सदस्य कृष्ण पौडेलले प्रश्नहरुको जवाफ दिनुभएको  थियो।

कार्यक्रममा स्याङ्जा जिल्लाभित्र क्रियाशिल २५ जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमकै अवसरमा फाउण्डेसनका भावी कार्ययोजना र कार्य रणनीतिका सन्दर्भमा समेत चर्चा परिचर्चा भएको थियो ।

सोहि क्रममा सहभागी पत्रकारहरुले आगामी बर्षको कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा महत्वपुर्ण सुझाव दिएका थिए । आगामी कार्यदिशाका सन्दर्भमा अध्यक्ष शर्माद्वारा जिल्लाका ११ वटै पालिकाका आवश्यकता र पालिकाकले छनौट गरेको आधारमा विभिन्न विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गरिने र आवश्यकता अनुसार  विद्यालय पोशाक  वितरण वितरण गरिने जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै