नेभिगेशन
समाचार

कृषि, प्रविधि र पर्यटनलाई जोड्दै वालिङको नीति तथा कार्यक्रम

वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि "समुन्नत वालिङ, सुखी वालिङवासी" को मूल नारासहितको विस्तृत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषि, प्रविधि र पर्यटनलाई जोड्दै नगर प्रमुख कृष्ण खाँणले २० औं नगरसभामा  वालिङको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। स्मार्ट सिटीको यात्रामा रहेको प्रविधीको प्रयोगमार्फत सेवा प्रवाहलाई   नागरिकमुखी  र पारदर्शी बनाउँदै  प्रविधिमैत्री नगर निर्माणको सङ्कल्प लिएको छ।

नेपालको संविधान, सोह्रौं योजना, दिगो विकास लक्ष्य र प्रदेश सरकारका नीतिहरूलाई आधार मानेर तयार पारिएको यस दस्ताबेजले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकका अपेक्षाहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। समग्रमा यो नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारदेखि मानवीय विकाससम्मका सबै पक्षलाई समेटेर वालिङलाई एक आत्मनिर्भर, सुरक्षित, समावेशी र संस्कारित नगर बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। 

यस वर्षको नीति तथा कार्यक्रमले आर्थिक पारदर्शिता र सुशासनलाई विशेष जोड दिँदै राजश्व भुक्तानीमा पूर्ण रूपमा 'शून्य नगद कारोबार' (Zero Cash Handling) को नीति अवलम्बन गर्ने घोषणा गरेको छ। स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्न कृषि र उद्यमशीलतालाई सँगसँगै अघि बढाइनेछ, जसअन्तर्गत "वालिङको उत्पादन" लाई छुट्टै ब्राण्डिङ गरिनेछ। महिला र युवाहरूलाई लक्षित गर्दै ब्याज अनुदानमा "उपमेयरसँग उद्यमी आमा", नवप्रवर्तनका लागि "युवा स्टार्टअप कोष", र वैदेशिक रोजगारबाट फर्केकाहरूका लागि "श्रमदेखि उद्यमसम्म" जस्ता प्रभावकारी कार्यक्रमहरू अघि सारिएका छन्। विकास निर्माणलाई व्यवस्थित, दिगो र परिणाममुखी बनाउन 'योजना बैंक' को अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ। 

स्मार्ट सिटीको अवधारणालाई थप विस्तार गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ। विद्यालयहरूमा एआई (AI) सिकाई सप्ताह सञ्चालन गर्ने, STEM शिक्षाका लागि स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने र युवा नवप्रवर्तनलाई बढावा दिन 'सूचना प्रविधि नवप्रवर्तन केन्द्र' (IT Incubation Center) स्थापना गरिने नीति लिइएको छ। जनस्वास्थ्यतर्फ 'कोखदेखि शोकसम्म नागरिकको साथमा स्थानीय सरकार' भन्ने मान्यता अनुरूप घरदैलो सेवालाई विस्तार गर्दै क्षयरोग पहिचानमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिने र प्रविधिमैत्री 'वालिङ स्वास्थ्य ड्यासबोर्ड' सञ्चालनमा ल्याइनेछ। 

पूर्वाधार, वातावरण र पर्यटनतर्फ पनि नगरपालिकाले महत्त्वाकांक्षी र दिगो योजनाहरू समावेश गरेको छ। वालिङ-४ स्थित खाल्टे झरनालाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पूर्वाधारसहित प्रमुख क्यान्योनिङ (Canyoning) गन्तव्यका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गरिनेछ। फोहोरमैला व्यवस्थापनलाई दिगो बनाउन स्रोतबाटै फोहोरको वर्गीकरण गरी कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने 'फोहोरबाट मोहर - फोहोरबाट नगद' अभियानलाई प्रभावकारी बनाइनेछ। यसका अतिरिक्त, न्यायमा नागरिकको सहज पहुँच पुर्‍याउन "नागरिकसँग न्यायिक समिति" कार्यक्रममार्फत टोल-टोलमा कानुनी सचेतना र लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्