प्रेस चौतारी नेपालद्वारा घोषणा गरिएको ‘प्रशिक्षण वर्ष–२०८२’ को लोगो सार्वजनिक गरिएको छ ।
जनसंगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो ।
लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गर्नुभयो ।
उहाँले झूटोलाई नभई सत्यलाई साथ दिन आग्रह गर्नुभयो । तथ्य राखेर सत्य स्थापित गर्ने काममा लाग्नुस् भन्दै उहाँले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्न आग्रहसमेत गर्नुभयो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेका अनुसार वर्ष २०८२ लाई प्रशिक्षण वर्ष घोषणा गर्दै प्रेस चौतारीले सबै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा विशेष प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

उहाँले चौतारी आबद्ध पत्रकार वैचारिकरूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणले पत्रकारको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्ला शाखाले यो वर्ष कम्तीमा ३ वटा प्रशिक्षण कार्यक्रम गर्नेछन् ।
प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारको क्षेत्रमा २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । प्रेस चौतारीमा हाल ७ हजारभन्दा बढी पत्रकार आबद्ध छन् ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतको उपस्थिती थियो