स्याङ्जाका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जामा पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा बिहीबार बिहान स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य र पर्यटनको सम्भावनाको विषयमा छलफल गरिएको थियो।
प्रेस रजिस्ट्रार विमला भण्डारीले स्याङ्जामा पर्यटकीय सम्भावना भएका महत्त्वपूर्ण ठाउँहरू भएकाले संचार माध्यमले पर्यटन प्रवर्धनमा सकारात्मक र नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो। तथ्य, प्रमाण र विचार सहितका सामाग्रीहरू प्रकाशन प्रसारण गर्न संचारकर्मीलाई अनुरोध गर्दै उहाँले गुणस्तरीय सामाग्री भएमा मात्रै पाठक स्रोताले मिडिया खोजीखोजी पढ्ने धारणा राख्नुभयो।
कार्यक्रममा एकीकृत कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू बारे जानकारीमूलक प्रस्तुती दिनुभएको थियो। उहाँले गह्रौसुर, कालिगण्डकी ड्याम, स्वरेक मैदान, नवग्रह मन्दिर, सिरूबारी, डहरेदेउराली लगायतका पर्यटकीय स्थहरूको महत्त्व र तिनको सम्भावना तथा पर्यटन विकासका लागि भइरहेका प्रयासबारे पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले स्याङ्जाका पर्यटकीय सम्पदाको प्रभावकारी प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र आर्थिक विकासमा सकारात्मक योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले पर्यटन प्रवर्धनका लागि जिल्लामा क्रियाशील पत्रकारहरू र महासँघ स्थानीय सरकारहरूसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरोकारवाला, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्याङ्जाका पर्यटकीय क्षेत्रहरूको पहिचान, संरक्षण र प्रचारप्रसारका विषयमा सुझाव दिएका थिए।
कार्यक्रममा स्याङ्जाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एकीकृत सेवा कार्यालयले अंग्रेजी भाषामा तयार गरेको ब्रसर विमोचन गरिएको थियो। ब्रसरमा जिल्लाका १ दर्जन भन्दा बढी पर्यटकीय स्थलको फोटो, सिद्धार्थ राजमार्गदेखिको दुरी, महत्त्व र उपलब्ध सेवाहरू समेटिएका छन्।