वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका प्रवासी नेपालीहरूले भीरकोट नगरपालिकाका तीन परिवारलाई आर्थिक सहयोग गरेका छन्। स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाईले भीरकोट नगरपालिकाका तीन जना बिरामीका परिवारलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले जनही १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
सहयोग प्राप्त गर्नेहरूमा भीरकोट–७ का क्यान्सरपीडित विष्णुबहादुर खाम्चा, भीरकोट–३ का मिर्गौलापीडित खेमराज राना र भीरकोट ६ का पक्षघातबाट पीडित लोकबहादुर रोका रहेका छन्। खाम्चाकी आमा चन्द्रकुमारी खाम्चा, मिर्गौलापीडित खेमराज राना र पक्षघातबाट पीडित लोकबहादुर रोकाकी श्रीमती तेजकुमारी रोकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाईका सल्लाहकार ऋषिराम अर्याल र वडा नं ७ का अध्यक्ष तारा अर्यालले उहाँहरूलाई संयुक्त रूपमा सहयोग हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष तारा अर्यालले वैदेशिक रोजगारीका क्रममा कठिन परिश्रम गरेर कमाएको रकमबाट जन्मभूमिका बिरामी तथा विपन्न नागरिकको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरूको भावना अनुकरणीय रहेको बताउनुभयो। उहाँले यस्तो सहयोगले आर्थिक अभाव झेलिरहेका परिवारलाई राहत मिल्नुका साथै समाजमा सहयोग र सद्भावको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
सहयोग ग्रहण गर्ने परिवारका सदस्यहरूले उपचारका लागि प्राप्त सहयोगले ठूलो राहत मिलेको भन्दै स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाई तथा सहयोग जुटाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
कतारमा रहेर आफ्नो गाउँघरका नागरिकको दुःखमा साथ दिने प्रवासी नेपालीहरूको यो मानवीय अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्। यस्ता सहयोगमूलक अभियानले विदेशमा रहेका नेपाली र जन्मभूमिबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
सहयोग वितरण कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, प्रथम उपाध्यक्ष पर्वत खाम्चा मगर, लायन्स क्लब भीरकोटका अध्यक्ष लेखबहादुर के.सी., संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी, वडा नं. ७ का अध्यक्ष तारा अर्याल, समाजका सल्लाहकार थमनारायण रेग्मीकी श्रीमती भगवती रेग्मी कोइराला तथा अध्यक्ष लिलबहादुर रोकाकी श्रीमती हिमा रोकालगायतको उपस्थिति रहेको थियो।
कतारमा रहेर आफ्नो गाउँघरका नागरिकको दुःखमा साथ दिने प्रवासी नेपालीहरूको यो मानवीय अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्। यस्ता सहयोगमूलक अभियानले विदेशमा रहेका नेपाली र जन्मभूमिबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।