नेभिगेशन
समाचार

नेपाली काँग्रेसका सांसद   बस्नेतसहित १६ जना विरूद्ध भ्रष्टाचारको  मुद्दा  

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतसहित  १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै पूर्व संचारमन्त्री समेत रहेका  सांसद बस्नेतको सांसद पद निलम्बित भएको छ । टेरामक्स प्रविधिको कानुनी र नितिगत प्रबन्ध समेत नगरी नेपाल दुरसंचार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रममा समावेश नै नभएको प्रविधी प्रचलित सार्वजनिक खरिद   ऐन २०६३ प्रतिकूल हुनेगरी पदीय दुरूपयोग गर्दै  प्रविधी   खरिद गरिएकाले कानुनबमोजिम मन्त्री बस्नेत विरूद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बस्नेत, नेपाल दुर संचार प्राधिकरणका तत्कालिन अध्यक्षहरू  दिगम्बर झा र पुरूषोत्तम खनाल लगायतका  १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार  १ सय ८२ रूपैयाँ  बिगो माग दाबीसहित बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणका  तत्कालिन सदस्यहरू सदस्यहरू धनराज ज्ञावली, टीकाप्रसाद उप्रेती,  प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सञ्जिव अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

यस्तै परामर्शदाता भ्यानराइज सोलुसन्स र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र त्यसका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

उक्त प्रकरणमा मुछिएका सांसदद्वय कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललगायतलाई भने अख्तियारले मुद्दा लगाउन नपर्ने निष्कर्ष निकालेको छ। टेरामक्स प्रविधि खरिदका लागि २०७४ मै योजना बनेकामा १ करोड १५ लाख डलर प्रस्ताव गरेको हङकङको टीकेसीलाई पछि पारेर २ करोड ३७ लाख ७० हजार डलर प्रस्ताव गरेको लेबनानको भेनराइजलाई छनोट गरिएपछि २०७५ चैतमा अख्तियारले प्रक्रिया रद्द गराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्