नेभिगेशन
समाज

नमूना क्लबको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: पौडेल

नमुना क्लब आँधीखोला गाउँपालिका–३, स्याङ्जाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

क्लबका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विचारी चौतारा पोखरा विकास समाजका अध्यक्ष उमाकान्त पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि पौडेलले नमुना क्लबले सामाजिक एकता, युवा परिचालन, खेलकुद तथा रचनात्मक सामाजिक अभियानमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थाले अझ सशक्त र उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संस्थाको संस्थागत विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक रामजी प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबले समुदायको आवश्यकता र युवाको सिर्जनशीलतालाई केन्द्रमा राखी सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

साधारण सभामा अध्यक्ष दिपेन्द्र पौडेलले संस्थाको वार्षिक प्रगति, सम्पन्न गतिविधि तथा भावी कार्ययोजनासहितको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संस्थाको स्थापना भएको छोटो समयमै सम्पूर्ण सदस्य, शुभेच्छुक तथा स्थानीय समुदायको साथ, सहयोग र सक्रिय सहभागिताका कारण क्लबले विभिन्न सामाजिक, खेलकुद, सरसफाइ तथा जनहितका उल्लेखनीय अभियान सञ्चालन गर्न सफल भएको बताउनुभयो। उहाँले "नमुना क्लब आँधीखोला गाउँपालिका–३, स्याङ्जा कुनै एक व्यक्तिको संस्था नभई हामी सबैको साझा अभियान हो। छोटो अवधिमै प्राप्त भएका उपलब्धिहरू सम्पूर्ण सदस्यहरूको एकता, समर्पण र निरन्तर मेहनतको परिणाम हुन्। आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गर्दै अझ प्रभावकारी, रचनात्मक र उदाहरणीय सामाजिक अभियान सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ," भन्नुभयो।

संस्था काेषाध्यक्ष चिन्तामणि रेग्मी विक्रमले आर्थिक वर्षको आय व्ययसम्बन्धी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि भएको छलफलपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।

कार्यक्रमका अवसरमा संस्थाको स्थापना, विकास तथा सामाजिक अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै रामजी प्रसाद शर्मा, ओमबहादुर के.सी. र अनुप भण्डारीलाई सम्मान गरिएको थियो। साथै, संस्थाका आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।

अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा गोविन्द पौडेल, महासचिवमा श्रीकृष्ण पौडेल, सचिवमा भेषराज पौडेल तथा कोषाध्यक्षमा चिन्तामणि रेग्मी विक्रम सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा गणेश रेग्मी, हिमाल शर्मा, रमेश पौडेल, यज्ञप्रसाद पौडेल, रेशमबहादुर क्षेत्री (अन्जान), शोभा ढाकाल र सविता पौडेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

कार्यक्रमको सञ्चालन क्लबका महासचिव श्रीकृष्ण पौडेलले गर्नुभएको थियो। नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुरूप सामाजिक, सांस्कृतिक, खेलकुद तथा युवा लक्षित गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउँदै समुदायको समग्र विकासमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्