भीरकोटमा सकारात्मक सोच र जीवनशैलीमा केन्द्रित विशेष उत्प्रेरणातमक सेमिनार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक एवं उत्प्रेरक डा. तुलसी प्रभास खनालले सकारात्मक सोच, जीवनको मूल्य , सपनाको शक्ति , असल अभिभावकको भूमिका, तनाव व्यवस्थापन, आत्मविश्वास निर्माण, प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्वकला, नेतृत्व विकास तथा व्यक्तित्व विकास लगायतका विषयमा प्रेरणादायी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा निवर्तमान नगरप्रमुख छायाराम डा. तुलसी प्रभास खनालले सञ्चालन गर्दै आएका जीवनोपयोगी प्रशिक्षणले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै उनको प्रशंसा गरे। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरणात्मक कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे।

भीरकोट नगरपालिकास्थित बयरघारीको तमु समाज भवनमा सत्कर्म फाउण्डेसन तथा साभ नेपालको आयोजनामा भएको एकदिने विशेष उत्प्रेणात्मक सेमिनारमा भीरकोट नगरपालिकाका समाजसेवी, बुद्धिजीवी, शिक्षक, व्यवसायी, उद्यमी, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सात दिने "सञ्चार कला तथा सार्वजनिक वक्तृत्वकला" अनलाइन प्रशिक्षण तालिमको समापन एवं प्रमाणपत्र वितरण गरिएको थियो।
प्रशिक्षणका क्रममा डा. खनालले “सफलता केवल ज्ञानले मात्र प्राप्त हुँदैन; सकारात्मक सोच, अनुशासन, स्पष्ट उद्देश्य, निरन्तर अभ्यास र प्रभावकारी सञ्चारको संयोजनबाट मात्र जीवनमा सार्थक उपलब्धि हासिल गर्न सकिन्छ।” भन्ने सन्देश दिएका थिए। उनले युवाहरूलाई ठूलो सपना देख्न, आफ्नो क्षमतामा विश्वास गर्न र समाज परिवर्तनको नेतृत्व लिन प्रेरित गरेका थिए।
सात दिनसम्म सञ्चालन भएको संचार कला तालिममा सहभागीहरूले सार्वजनिक रूपमा निर्धक्कसँग बोल्ने कला, आत्मविश्वास निर्माण, प्रस्तुतीकरण सीप, आवाजको प्रभावकारी प्रयोग, शारीरिक हाउभाउ , श्रोतासँग सम्बन्ध निर्माण तथा प्रभावकारी सञ्चारका व्यावहारिक अभ्यास गरेका थिए । समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
डा. खनाल विगत लामो समयदेखि शिक्षा, अनुसन्धान, व्यक्तित्व विकास, नेतृत्व विकास, मनोविज्ञान, सञ्चार कला तथा सामाजिक चेतना अभिवृद्धिका क्षेत्रमा सक्रिय रहँदै आएका छ्न्। विभिन्न विद्यालय, महाविद्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरूमा उनले हजारौँ शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि तथा युवाहरूलाई प्रशिक्षण प्रदान गरिसकेका छन्। स्थानीय इतिहास, भाषा, कला, संस्कृति तथा स्थानीय पाठ्यक्रम निर्माणमा समेत उनको उल्लेखनीय योगदान रहेको छ।