नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

धार्मिक सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनाउन आग्रह

देशमा तराईका  विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको विषम परिस्थितिका बीच सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले स्याङ्जामा आईतवार  सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ।

लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजन स्याङ्जाको संयुक्त आयोजनामा भएको र्‍याली पुस्तकालयको प्राङ्गणबाट सुरु भई स्याङ्जा बजार परिक्रमा गर्दै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै संस्थाका वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले समाजमा धार्मिक सहिष्णुता कायम रहनुपर्ने बताए। उनले सामाजिक एकता, पारस्परिक सम्मान र सहअस्तित्वलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

संस्थाका कोषाध्यक्ष चन्द्रमणि पौडेलले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए। प्रमुख व्यवस्थापक एकबहादुर गोदार (रमेश) ले समाजमा एकता कायम गर्न नागरिकको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्दै ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता सबैको साझा दायित्व हो,’ भने।

कार्यक्रममा पत्रकार, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार पछिल्ला घटनाक्रमका कारण समाजमा देखा पर्न सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्