२५ करोड लगानीमा गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण कार्य सुरू भएको छ । पोखरा–३ नदीपुरस्थित हाल प्रयोग भइरहेको भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ संरचना बन्न लागेको हो ।
शहरी विकास तथा भवन कार्यालय कास्की प्रमुख सी.डी.ई ओमराज ढुंगानाका अनुसार नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनीमा नयाँ भवन बन्न लागेको हो ।

निर्माण स्थलमा रहेको एउटा टहरा भत्काएपछि भवनको शिलान्यास गर्ने तयारी गरिएको छ । अहिले निर्माण स्थल सफाइको काम भइरहेको छ ।
श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंसँग २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा गत माघ १८ मा निर्माण सम्झौता भएको छ । ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

३६ महिनाभित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार ०८४ माघ १८ सम्म संसद् भवन बनाइसक्नुपर्ने हुन्छ । वर्तमान प्रदेशसभा सदस्यहरूले भने प्रयोग गर्न पाउनेछैनन् । ०८४ मंसिरमा चुनिने तेस्रो कार्यकालका सांसद नयाँ भवनमा चल्ने संसद् बैठकमा सहभागी हुन पाउनेछन् ।
नयाँ भवन तीन तले बन्नेछ । पहिलो तलामा संसद् बैठक कक्ष रहनेछ । त्यहाँ ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, सामान्य र भीआईपी कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् ।

भुईंतलामा ५ वटा संसदीय दलको बैठक कक्ष र ५ वटा भीआईपी कार्यालय बनाइने छ । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय भुईंतलामा रहनेछ ।
दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । २ वटा लिफ्ट पनि रहने भवना तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवन बाहिरपट्टि चमेनागृह, पार्किङ निर्माण गरिनेछ ।

3D Design by: Scale Architects Private Limited