शिक्षा तालिम केन्द्र तनहुँले गण्डकी प्रदेशमा कार्यरत करिब ४ सय शिक्षकलाई विद्यार्थी मनोसामाजिक परामर्श तालिम प्रदान गरेको छ l विद्यार्थीको मानसिक र सामाजिक स्वास्थ्य अवस्था बुझेर उनीहरूलाई भावनात्मक समर्थन गर्न, सामाजिक सम्बन्धमा सुधार ल्याउन, आत्मबल वृद्दि गरी शैक्षिक गुणस्तरमा समेत आशातित सुधार ल्याउन र विद्यालयमा बालमैत्री वातावरण कायम गर्न शिक्षकहरूलाई विद्यार्थी मनोपरामर्श तालिम प्रदान गरिएको शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपाल हरि रानाभाटले जानकारी दिनुभयो l
स्याङ्जा, बाग्लुङ, पर्वत, कास्की, म्याग्दी लगायतका सामाजिक मनोपरामर्शको आवश्यकता बढी भएका जिल्लाका आधारभूत र माध्यमिक तहमा कार्यरत करिब ४ सयजनालाई तालिम दिइएको शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपाल हरि रानाभाटले जानकारी दिनुभयो l
विद्यार्थीमा २ हप्तासम्म चिन्तित देखिने, डराउने, टोलाउने, नरमाइलो मानिरहने, ध्यान केन्द्रित हुन् नसक्ने, एकछिन पनि शान्तसँग बस्न नसक्ने, प्राय सबै स्थानमा चकचक गरिरहने, आफ्नो उमेरभन्दा सानो बालबालिकाको जस्तो व्यवहार देखाउने, सानो कुरामा झर्को मान्ने, रिसाएर बस्ने , विद्यालय जानै नमान्ने, मस्तसँग निदाउन नसक्ने, बेहोस हुने, सपनामा तर्सिरहने, बर्बराउने, चिच्याउने आदी जस्ता समस्या देखिएका विद्यार्थीहरूलाई मनोसामाजिक परामर्शको आवश्यकता पर्ने तालिम सहजकर्ता दिपेन्द्र परियारले जानकारी दिनुभयो l
मनोसामाजिक समस्या देखिएका विद्यार्थीहरूलाई समयमै परामर्श सेवा प्रदान गर्न सकेमा किशोर किशोरीमा देखिने आत्महत्याको समस्या समेत कम गर्न सकिने डाक्टर लक्ष्मी पन्थीले बताउनुभयो l विपद, दुर्घटना, दुर्व्यवहार, लागूऔषध दुर्व्यसनी, घरेलु हिँसा, बलात्कार, असफलता, निराशाका कारण विद्यार्थीहरूमा मनोसामाजिक समस्या देखिने भएकाले त्यस्ता समस्या समाधान गर्न अभिभावक र शिक्षकले बेलैमा ध्यान दिनुपर्ने डाक्टर पन्थीले बताउनुभयो l
विद्यालयमा प्रदान गरिने मोसामाजिक परामर्शमा विद्यार्थीसँग गरिएका सबै कुराकानी गोप्य राख्नुपर्ने र आत्मबल, आत्मसम्मान वृद्धि गर्ने, आशा, विश्वास र मनको शान्ति कायम गर्ने कुराहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो l
तालिममा सहभागी सिगाना माध्यमिक विद्यालयका शिक्षक हंस बहादुर सार्कीले विद्यालयमा बालमैत्री वातावरण गर्न, विद्यार्थीका मनोसामाजिक समस्या समाधान गर्न तालिम निकै उपयोगी रहेको बताउनुभयो l तालिममा विद्यार्थीको समस्या बुझ्ने तौरतरिका र समाधानका चरण र उपायहरू समेत बुझ्न र सिक्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो l
पूर्णेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका विष्णु कुमारी शर्माले तालिमबाट क्षारे रोग र रूपान्तरित विकृति (कन्भर्जन डिसअर्डर) बिचको फरक बुझ्न, विद्यार्थीको पढाइ र स्वास्थ्यमा प्रभाव पार्ने सामाजिक , मानसिक र व्यवहारिक समस्या समाधान गर्ने सिप समेत प्राप्त भएकाले यस्ता तालिमहरू सबै शिक्षकहरूलाई दिनुपर्ने बताउनुभयो l