नेभिगेशन
कला - साहित्य

वियोगीको साथमा ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ 

विद्यार्थीहरूको सृजनात्मक प्रतिभा विकासका लागि दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । कक्षा  ११ र १२ मा अध्ययनरत विद्यार्थीबिच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग  बुधबार  सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया भएको हो।

कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताउनुभयो ।

गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहीत सत्यम् कथासङ्ग्रह बजारमा आएको छ । उहाँले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आउनुभएको छ ।

सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताउनु भयो । यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला र बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दैै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यसैगरी, कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीबाबु कविता कृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गर्नुभएको  थियो । सहजकर्ताको भूमिकासँगै कवि मिलन समिरले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्