राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, स्याङ्जाको नवौं अधिवेशसन सम्पन्न भएको छ । शनिबार साँझ सम्पन्न अधिवेशनबाट प्रतिष्ठानको अध्यक्षमा जगत गौंडेल सर्वसम्मत चयन हुनु भएको छ । गौंडेल यस अघिको समितिमा प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।
अधिवेशनबाट अध्यक्ष गौंडेलसहित २४ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा राजेश भण्डारी, द्वितीय उपाध्यक्षमा अनिल लम्साल, महिला उपाध्यक्षमा तारा पौडेल श्रेष्ठ, सचिव रेशम थापा, सहसचिवमा पाल बहादुर सिंङ (लक्ष्मण ठकुरी), कोषाध्यक्षमा रविना गुरुङ र सह–कोषाध्यक्ष सम बस्याल निर्वाचित हुनुभएको छ ।

यसैगरी जीवन थापा, कृष्ण मल्ल ठकुरी, सगुन थापा, थमबहादुर नेपाली, विक्रम सम्वत, एलिना गुरुङ, शुशिल पोख्रेल, भोजकुमारी पाण्डे, सवाष गुरुङ, यज्ञ प्रसाद डुम्रे, बत्ती थापा, लिल बहादुर थापा र ज्ञानीमायाँ गुरुङ (शिला) सदस्यमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्य समितिको प्रथम वैठकले प्रतीक्षा काफ्ले, मञ्जु खनाल र सुरेश विक गरी ३ जना मनोनितसहित २४ सदस्यीय समिति निर्माण गरेको छ भने पछि १ जना सदस्य पुनः मनोनित गर्नेगरी २५ सदस्यीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष गौंडेलले जानकारी दिनुभयो ।
नवनिर्वाचित समितिका अध्यक्ष गौंडेललाई सपथ ग्रहण गराउँदै प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँणले स्थापनाकालदेखि सर्वसम्मतरुपमा कार्यसमिति चयन हुँदै आएको जिल्लाको इतिहासलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतिष्ठानको गण्डकी प्रदेश संयोजकसमेत रहनुभएका खाँणले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारालाई आत्मसाथ गर्दै चुस्त र दुरुस्तरुप कार्य सम्पादनसहित अगाडि बढ्न आग्रह गर्नुभयो ।
अधिवेशनका अवसरमा संस्थापक अध्यक्ष गोपाल जिटीसहित पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे र ऋषि डुम्रेलाई सम्मान गरिएको थियो । यसैगरी नव प्रतिभामा बाल नृत्याङ्गनाहरु आयुषा खत्री, निष्मा खनाल, वर्षा गुरुङ र रियाना सुवेदी गरी ४ जना बाल कलाकारलाई सम्मान गरिएको थियो ।