नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

वालिङमा 'विविशारा' उपन्यासको विमर्श

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सव मनाउने क्रममा उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति "विविशारा" माथि विमर्श एवम् सिर्जना वाचन समारोह- २०८२ सम्पन्न भएको छ। वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७औँ पाइलाका रूपमा आयोजना गरिएको यो समारोह शनिबार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा "विविशारा" औपन्यासिक कृतिमाथि केन्द्रित रहेर वक्ताद्वय लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने उपन्यासकार घिमिरेले कृतिबारे लेखकीय मन्तव्य राख्नुभएको थियो।

हालको टेम्केमयुँ गाउँपालिका- ६, भोजपुरमा जन्मिनुभएका सशक्त छन्दकवि एवम् आख्यानकार छवि वैरागी घिमिरे हाल सुन्दरहरैँचा नगरपालिका- ९, विराटचोक, मोरङमा रहेर सिर्जना कर्ममा क्रियाशील हुनुहुन्छ। संस्कृतमा आचार्यसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका घिमिरेको "विविशारा" दोस्रो औपन्यासिक कृति हो। रेडियो सञ्चारकर्मीका रूपमा एक दशक काम गरिसक्नुभएका उहाँ हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा क्रियाशील हुनुहुन्छ। साधकका रूपमा समेत परिचित उहाँका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् र उहाँ स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ।

"विविशारा" उपन्यासको मूल कथ्य संसारमा अलौकिक प्रेम अझै मरेको छैन र विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुशीको जीवन पनि छ भन्ने विषय रहेको छ। उक्त कृतिको प्रकाशन फिनिक्स बुक्स, काठमाडौँले गरेको हो। अनौपचारिक रूपमा आयोजना गरिएको यो समारोहको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो।

समारोहमा स्वागत मन्तव्य अभियानका संस्थापक अभियन्ता युवा कवि युवराज सुवेदीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरू विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर के.सी., लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्