युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिका रूपमा १३१ वटा समसामयिक गजलहरूको सङ्ग्रह "रात्री आकाश" को लोकार्पण एवं वालिङ गजल उत्सव- २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ को ३८ औँ शृङ्खलाका रूपमा यो कार्यक्रम आयोजना गरिएको थियो। स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्व राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान अन्तर्गत आयोजना गरिएको "रात्री आकाश" कृति लोकार्पण एवं वालिङ गजल उत्सव- २०८२ शनिबार दिउँसो वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।
गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार बाबु त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा "रात्री आकाश" गजल कृतिको लोकार्पणपश्चात् गजल कृति र स्रष्टा गुरुप्रसाद ढकालको गजल लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय सीता गौडेल गैह्रे र राहुल शङ्करले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने स्वयं गजलकार ढकालले पनि आफ्नो गजलीय मन्तव्य व्यक्त गर्नुभएको थियो।
गल्याङ नगरपालिका- ११, लबरकोट, स्याङ्जामा वि.सं. २०४६ साल असोज ३१ गते बुबा तोलाकान्त ढकाल र आमा प्रेमकान्ति ढकालको कोखबाट जन्मिनुभएका युवा गजलकार गुरुप्रसाद ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ- ९, अमिलाथुममा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। उहाँ आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा विशेष रूपमा क्रियाशील हुनुहुन्छ भने जगत्रदेवी साहित्य संगम, गल्याङका सह-सचिव समेत रहनुभएको छ।
वालिङ बहुमुखी क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक (B.Ed.) र नेपाल कमर्स क्याम्पस, मीनभवन, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (M.B.S.) तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ढकालको "रात्री आकाश" पहिलो साहित्यिक कृति हो। नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको यस कृतिमा कुल १३१ वटा समसामयिक गजलहरू समावेश गरिएका छन्।
हुमनाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो चरण अर्थात् वालिङ गजल उत्सव- २०८२ को सन्दर्भमा स्रष्टाहरू दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री ए.सी., सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गर्नुभएको थियो।
समारोहमा गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकारकी धर्मपत्नी कमला गैह्रे ढकालका बुबा-आमा, प्रमुख अतिथि बाबु त्रिपाठी, कृतिका सम्पादक मिलन समीर लगायतलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो।