स्याङ्जाको गल्याङमा ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको पूर्व सन्ध्या पारेर जगत्रदेवी साहित्य सङ्गम गल्याङले माघ २४ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरेको हो।
पल्लव साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहको अध्यक्षता सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि लामिछानेलाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ प्रदान गरिएको थियो। यस्तै, कार्यक्रमको प्रायोजन गर्नुहुने अध्यक्ष भट्टराईका पूर्व विद्यार्थी एवं हाल अमेरिका निवासी डा. विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो। प्रायोजकको सम्मान उहाँका दाजु पितम खड्कालाई हस्तान्तरण गरिएको थियो।
सभाध्यक्ष भट्टराईले सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीको विशेष सहयोगले गल्याङमा यसरी काव्य उत्सव आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारको लगानीमा हुनुपर्ने काम देश–विदेशमा रही श्रम गर्नेहरूको सहायताले गरिएको कुरा जानकारी गराउनुभयो।
कार्यक्रममा सङ्गमका उपाध्यक्ष लीलाबल्लभ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो। विशिष्ट अतिथि गल्याङ नगरपालिका–७ का वडाध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकाको बैठकमा आवाज उठाउने र आफ्नो वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल लगायतको विशिष्ट आतिथ्य रहेको थियो।
कविता वाचनले गुञ्जियो हल काव्य उत्सवमा दुर्गा राना, दिलीप मगर, गीता थापा, पितम खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर केसी, सनतकुमार गैरे, लोकहरि पाण्डे ‘क्षितिज’, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम भण्डारी, प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने र सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई लगायतका स्रष्टाहरूले राष्ट्रिय परिवेशमा आधारित कविता वाचन गर्नुभएको थियो।
सङ्गमका कोषाध्यक्ष पार्वती थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो।