नेभिगेशन
कला - साहित्य

"म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु" कविताको विमर्श 

स्याङ्जाली युवाकवि मिलन समीरको निर्बन्ध- काव्य सिर्जना "म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु" माथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७ औँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले गरेको थियोे । उक्त कार्यक्रम अभियानको ४० औँ पाइला अर्थात् शृङ्खलाको रूपमा रहेको थियोे ।

स्याङ्जाली साहित्यको इतिहासमै यसरी फुटकर रचनामाथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम यो नै पहिलो हो । निर्बन्ध- काव्य सिर्जना "म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु"  माथि विमर्श कार्यक्रम सोमवार  वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियोे ।

विमर्श कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियोे । कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तुत निर्बन्ध- काव्य सिर्जनाका स्रष्टा युवाकवि मिलन समीर, वक्ताहरु अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज सुवेदी र वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत निर्बन्ध- काव्य सिर्जनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको  थियो।कार्यक्रममा सहभागी साहित्यप्रेमी व्यक्तित्वहरुले नवीनतम निर्बन्ध- काव्य सिर्जनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा रहेर सिर्जनशील कर्ममा विशेष सक्रिय हुनुहुन्छ । साहित्यिक अभियन्ताको पहिचान बनाएका सशक्त युवा स्रष्टा मिलन समीरका गाउँमा साइरन बजेपछि (कविता सङ्ग्रह-२०६९), प्रिय दुश्मन (शृङ्खला कविता- २०७९), मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरु- २०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरु- २०८०) लगायतका एकल र संयुक्तरूपमा थुप्रै कृतिहरु प्रकाशित छन् ।

थुप्रै साहित्यिक कृतिको सम्पादन गरिसकेका मिलन समीर स्थानीयदेखि राष्ट्रियस्तरका महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्