नेभिगेशन
कला - साहित्य

म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु !

(कविता)

म अर्थात्
एउटा अर्को उत्तरआधुनिक
अभागी युवा श्रवणकुमारको
असामयिक अप्रत्याशित मृत्युको
अकल्पनीय शोकको घडीमा
अन्धाअन्धी वृद्ध बाबुआमाको
अभागी अदृश्य आँखाहरुको
नाकेडाँडाको भिरालो बाटोहुँदै
अविरल सम्झनाको पिँधमा
एकोहोरो टोलाउँदै बसिरहेको
बाल्यकालीन स्मृतिलाई चिहाउँदै
साउने झरी बनेर झरेसँगै 
भुमाफिया र दलालहरुको
गिद्दे नजर मैमाथि परेसँगै
हेलिएर नैतिकताको आचरणले
सधैँका लागि जीवनसागर तरेसँगै
बाँकी रहेको मानवीय ईमानले नै
मसँग पटकपटक बेइमानी गरेसँगै
सोच्दै नसोचिएका मान्छेहरु समेत
दुनियाँको नजरबाट कसिङ्गर भै झरेसँगै
दायाँबायाँ- तलमाथि जरैदेखि खनिखोस्री
मलाई पुरै रित्त्याएर आफ्नै भुँडी भरेसँगै 
अमानवीय ध्याउन्नमा मानवता मरेसँगै
विवेकशील स्वभावले आफ्नो बसाइँ सरेसँगै
नयाँ सिसिफसको पुरानै नियति बेहोर्दै
अहिलेसम्म पनि उसैगरी जसोतसो
आँधीखोला उकालोमै बगिरहेको छु !
 
उहिल्यैदेखि
अविरल बग्ने क्रममा
सधैँ सधैँका लागि
छेकिएपछि सिमा ओरालोको
केही अपवादबाहेक
देखिएपछि प्रायः मान्छेहरुको
सुन्दर अनुहारभित्र लुकेर बसिरहेको
घिनलाग्दो कुरुप चरित्र
भावीद्वारा मेरै फराकिलो निधारमा
लेखिएपछि दुर्भाग्यको महाभारत
आफू बग्ने धर्मको मूल मर्मलाई
मर्न नदिएर अहिलेसम्म अकालमै
असङ्ख्य अभागी आँखाको आँसु
अर्थात् म आँधीखोला उकालोमै बगिरहेको छु !
 
समाहित भएर मभित्रै
सधैँ सँगै बग्ने बहानामा
चुपचाप आएर मिसिएका छन्
असङ्ख्य खहरेका भेलबाढी
सधैँका लागि छोडेर गएका छन्
मेरा पृथक पाइलैपिच्छे भीषण पहिरोसँगै
छिचोलेर कहिल्यै नसकिने गेग्र्यानको थुप्रो !
 
आँधीखोले ओरालोको
साँच्चिकै सजिलो मूलबाटो छेकेर
तार्सेभिरको टोपी खस्ने उकालोमा
आफू हिँड्ने वैकल्पिक बाटो बनाउँदै
चालेर आजीवन पृथक पाइला
मलाई एक्लो बृहस्पतिको रूपमा
सधैँका लागि सबैको अगाडि
ध्रुवसत्य झुटो प्रमाणित गराउँदै
आजीवन एक्लै हिँड्न बाध्य बनाउने
सदैव स्पष्ट देखिने गहुँगोरो अनुहारका
अदृश्य "उ" कालो
अर्थात् मन कालो भएका
कपटीहरुको व्यवहारकै कारण
म अर्थात् आँधीखोला
उकालोमै बगिरहेको छु !
 
ओरालोलाई चटक्कै बिर्सिएर
त्यसपछि फेरि सधैँका लागि
उकालोको अफ्ठ्यारो बाटोहुँदै
अविरल एक्लै बहनुपर्दाको
अकल्पनीय अप्रत्याशित पीडा
सहनै नसकिने परिस्थितिमा पनि
अझै सहनुको असह्य पीडा
अहिलेसम्म मलाई जत्तिकै
अरु कुन खोलालाई परेको छ होला र ?
अविरल दुई आँखाको बाटोहुँदै
अरु कुन खोला झरेको छ होला र ?
मसँगै बगिरहेको अविरल आँसुको अर्थ
अरु कुन खोलाले पो बुझेको छ होला र ?
अहिलेसम्म आफू एक्लै बसेर एकान्तमा
हरेक पल कुन खोला रुझेको छ होला र ?
 
चालेर पृथक पाइला
आफू हिँड्ने वैकल्पिक बाटो
बनाउने अलिकति पनि ठाउँ
बाँकी नरहेको यस्तो अवस्थामा
आइपुगिसकेपछि बाध्यतामै सही
असङ्ख्य सूर्यको असीमित अँध्यारोमा
स्वयं आफूभित्रको सीमित उज्यालो बालेर
आँधीमुहानदेखि डहरैडहरको छेउहुँदै
देउरालीको साँघुरो बाटोमा एक्लै हिँडेर
एउटा अर्को अन्त्यहीन आँसुको शृङ्खला
अर्थात् म आँधीखोला उकालोमै बगिरहेको छु !
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्