नेभिगेशन
स्वास्थ्य

विश्व औलो दिवसका अवसरमा सचेतनामूलक अन्तरक्रिया

स्याङ्जामा विश्व औलो दिवस २०२६ का अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।“औलो  अन्त्य हाम्रो संकल्प: सक्षम छौं,छैन अब विकल्प” भन्ने नाराका साथ प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सरोकारवालाहरूसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाका निमित्त कार्यालय प्रमुख उमेश कुमार तामाङले जिल्लामा औलोको जोखिम एकदमै न्यून रहेको बताउनुभयो । उहाँले  आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्म ४ वर्षको अवधिमा जिल्लाभर जम्मा ५  जना औलोका बिरामी भेटिएको जानकारी दिनुभयो  ।  जिल्लामा “भाइभेक्स” र “फाल्सिफारम”  गरी २ प्रकारको औलो रोगको संक्रमण भेटिएको उहाँले बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाका मलेरिया फोकल पर्सन  पृथ्वी लामिछानेले ४ वर्षको अवधिमा पुतलीबजारमा २ जना, वालिङमा १ जना, अर्जुनचौपारीमा  १ जना र गल्याङमा १ जना बिरामी भेटिएको जानकारी दिनुभयो   । औलोको संक्रमण देखिएका सबै बिरामी निको भैसकेको उहाँले बताउनुभयो।उहाँले जिल्लामा स्थानीय  बिरामी नरहेको जानकारी दिदै विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुमा औलोको संक्रमण भेटिएको बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालयले औलो रोकथामका लागि जनचेतना अभिवृद्धि, रोगको पहिचान र उपचार, रोगीको कन्ट्रयाक्ट ट्रेसीङ लगायतको काम नियमित गरिरहेको निमित्त कार्यालय प्रमुख उमेश कुमार तामाङले बताउनुभयो । ।

सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जी.टी. ले सरकार र सरोकारवालाको सामुहिक प्रयासले औलो नियन्त्रणमा आएको बताउनुभयो ।कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, स्थानीय व्यवसायी, महिला स्वास्थ्य स्वयंसेविका, जिल्लामा क्रियाशील पत्रकार, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्