नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

युवा स्रष्टा मुनालको मुक्तक संग्रहको लोकार्पण 

स्याङ्जाली  युवा स्रष्टा  मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति  " मुनाल - बतासे प्रेम" भीरकोटमा लोकार्पण  गरिएको छ । ८३ वटा मुक्तक समेटिएको  मुक्तक संग्रह   बलमाटास्थित कालिका पुस्तकालयको सभाकक्षमा लोकार्पण गरिएको हो।

भीरकोट नगरपालिका नगर  प्रमुख गोविन्दकुमार कर्माचार्य, स्याङ्जाली युवा कवि मिलन समीर, शम्भु अर्याल र शुभेच्छुकहरूले संयुक्त रूपमा मुक्तक संग्रहको लोकार्पण गर्नुभएको हो। 

कृति सार्वजनिक भएपछि स्रष्टाहरू मनिषा कोइराला, शम्भु अर्याल र मिलन समीरले मुनालको मुक्तक लेखन र कृतिको विषयमा समीक्षात्मक धारणा राख्नुभएको थियो। उहाँहरूले मुनालका मुक्तकहरू चोटिला र स्तरीय रहेको बताउनुभयो। सो अवसरमा बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्राचार्य अमृत अर्यालले ‘सिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिका’ बारे मन्तव्य दिनुभएको थियो ।

नेपाली लेखक संघ स्याङ्जाले प्रकाशन गरेको यस कृतिलाई मिलन समीरले सम्पादन गर्नुभएको हो । संग्रहमा विभिन्न समसामयिक विषय र सन्दर्भमा लेखिएका ८३ वटा मुक्तक छन् । मुक्तक संग्रहमा  चित्रात्मक शैलीमा  प्रत्येक मुक्तकको भावअनुसारका रेखाचित्र (स्केच) समेत समावेश गरिएको छ । 

वक्ताहरूले भीरकोट क्षेत्र साहित्यमय बन्दै गएकोमा खुशी  प्रकट गरे । उनीहरूले साहित्यमा सिर्जनशील निरन्तरता हुनुपर्नेमा जोड दिए । वक्ताहरूले साहित्यले समाजको ऐनाका रूपमा काम गर्ने भएकाले स्रष्टाहरूको ध्यान सामाजिक यथार्थलाई समेट्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा स्याङ्जाली  स्रष्टाहरु वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गर्नुभएको थियो।

भीरकोटका स्रष्टाको भीरकोटमै पहिलोपटक साहित्यिक कृतिको लोकार्पण गरिएको हुँदा  यसलाई भीरकोटको साहित्यिक इतिहासमै एउटा विशेष अर्थ राख्ने कार्यक्रमका रूपमा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्