नेभिगेशन
शिक्षा तथा खेलकुद

पेशागत क्षमता विकास गर्न संस्थागत विद्यालयका शिक्षकलाई तालिम 

भीरकोट नगरपालिकामा कार्यरत संस्थागत विद्यालयका शिक्षकहरूको लागि ३ दिने तालिम संचालन गरिएको छ। निजी तथा आवासीय विद्यालयहरूको  सहकार्यमा   प्याब्सन भीरकोटले भीरकोट नगरपालिकामा संचालित ५ वटा  संस्थागत विद्यालय कार्यरत करिब १ सय २५ जना शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्न तालिम संचालन गरेको हो।

तालिमको उद्घाटन सत्रमा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोटको शैक्षिक गुणस्तर सुधार गर्न प्याब्सन भीरकोटले शिक्षक  तालिम संचालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाको शैक्षिक गुणस्तर  खस्किएको स्वीकार गर्दै प्याब्सन भीरकोटलाई विद्यालयमा कार्यरत शिक्षकहरूलाई योग्यता अनुसारको सेवासुविधा दिन र शैक्षिक गुणस्तर सुधार गरि वालिङका विद्यार्थी भीरकोट आउने वातावरण बनाउन आग्रह गर्नुभयो । गुणस्तर वृद्धि गर्न निजी विद्यालयलाई  सहयोग गर्न नगरपालिका तयार रहेको बताउँदै उहाँले आत्मविश्वास,दृढसंकल्प र अठोट लिएर पूर्ण तयारीका साथ कक्षामा प्रवेश गर्न र बोली र व्यबहारमार्फत विद्यालयमा पूर्ण बालमैत्री वातावरण सृजना गर्न निर्देशन दिनुभएको थियो।

IMG-20250529-WA0006-1748568519.jpg
बालज्योती आवासीय मा.वि. का अध्यक्ष भक्तबहादुर के.सी. ले शिक्षकहरूको पेशागत क्षमता विकास र शैक्षिक गुणस्तर वृद्धि गर्न प्याब्सन भीरकोटले गरेको प्रयास प्रंशसनीय रहेको बताउनुभयो। भीरकोटको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार हुन नसक्दा विद्यार्थीहरू वालिङका शैक्षिक संस्थाहरूमा आकर्षित भएको र यसले भीरकोटको शिक्षामा मात्र नभै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको गुनासो गर्नुभयो। उहाँले भीरकोट नगरपालिका, नगर शिक्षा शाखा र निजी विद्यालयका संचालक निकम्बा भएकै कारण यस्तो अवस्था आएको आक्रोश पोख्नुभएको थियो। सरोकारवाला जिम्मेवार नभएसम्म अवस्था सुधार नहुने संकेत गर्दै विद्यार्थी भन्दा शिक्षक बढी भएका विद्यालय तत्काल मर्जर गर्न नगरपालिकालाई सुझाब दिनुभएको थियो। आवश्यक परे मर्जर भएका विद्यालयका विद्यार्थीहरूलाई बालज्योतिमा निशुल्क पढाउने व्यवस्था मिलाउने समेत उहाँको दाबी छ।

बालोदय अंग्रेजी आवासीय मा.वि. का प्रिन्सिपल अर्यालले शैक्षिक गुणस्तर सुधार्न  र स्थानीय सरकारसँग सहकार्य गर्न संस्थागत विद्यालयहरू  तयार रहेको बताउँदै सरकारले आवश्यक सहयोग र नियमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थागत विद्यालयहरू  सामाजिक सुरक्षा कोषमा आवद्ध हुने लागेकाले अब संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको भविष्य सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो।IMG-20250529-WA0005-1748568575.jpg

कन्साइन्स अंग्रेजी आवासीय मा.वि. का प्रिन्सिपल साजन परियारले तालिममा शिक्षकहरूले सक्रिय सहभागिता जनाएकोमा खुशी व्यक्त गर्दै उहाँहरूलाई  तालिम पश्चात् किताबमा मात्रै सिमित नहुन, प्रयोगात्मक र क्रियाकलापमा आधारित शिक्षण सिकाइ गर्न र विद्यार्थीलाई सृजनशील बनाउन आग्रह गर्नुभयो। निजी विद्यालयमा धेरैजसो विषयगत नतिजा सतप्रतिशत रहेको बताउँदै उहाँले नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई पुरस्कृत गरेकोमा नगर प्रमुख कर्माचार्यलाई धन्यवाद व्यक्त गर्नुभयो। 

बिहिबारदेखि संचालन भएको तालिम ३ दिनसम्म संचालन हुने बुद्ध मेमोरियल अंग्रेजी आवासीय मा.वि. का प्रिन्सिपल सुवर्ण लुइटेलले जानकारी दिनुभयो। तालिममा राष्ट्रिय स्तरका प्रशिक्षकहरू प्रविन देशार,नवीन मरासिनी र राजु श्रेष्ठले तालिम दिइरहनु भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्