नेभिगेशन
शिक्षा तथा खेलकुद

स्याङ्जामा ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण,  ४ जनाले ल्याए ४ जिपिए

शुक्रबार सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) माध्यमिक शिक्षा परिक्षा(एसईई) २०८१ को नतिजामा स्याङ्जाका ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। स्याङ्जाबाट नियमितरूपमा ३ हजार ७ सय ३३ जनाले एसईई दिएकोमा २ हजार ५ सय १६ जना विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । उत्तीर्ण मध्ये ९० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका छन् ।

उहाँका अनुसार साधारणतर्फ उत्तीर्ण भएका विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३०८ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ६९२ र ९१७ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् । यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ४७५ जना र ३४ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।

त्यस्तै, प्राविधिकतर्फ १६ जनाले ३.६ देखि ४ जिपिए, ३४ जनाले ३.२ देखि ३.६ जिपिए, ३३ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् ।

त्यस्तै, एक हजार २६० जनाले ग्रेडवृद्धि परीक्षा दिएकोमा साधारणतर्फ छ सय ८४ र ३८ जना प्राविधिकतर्फका गरी सात सय २२ जना उत्तीर्ण भएका छन् । ग्रेडवृद्धि परीक्षा दिने ५० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका थिए ।

स्याङ्जामा  चारजनाले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउने विद्यार्थीमा सामुदायिक विद्यालयतर्फ एक जना र निजी विद्यालयतर्फ तीनजना रहेका छन् ।

सामुदायिकतर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयका प्रतीक भट्टराईले माध्यमिक शिक्षा परीक्षामा ४ जिपिए ल्याएका छन् । यस्तै, निजीतर्फ माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याउने अर्जुनचौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीकी किन्जन देवकोटा , वालिङ् नगरपालिकाको नेपाल आदर्श आवासीय माविका अप्सन सुवेदी र पायनियर आवासीय माविकी प्राप्ति काफ्ले हुनुहुन्छ ।

गत वर्ष भने जिल्लामै पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका एक मात्र विद्यार्थीले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा तथा खेलकुद