नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

नमूना क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण

नमुना क्लबले आँधिखोला गाउँपालिका वडा नं. ३ अन्तर्गत विचारीचौतारामा अवस्थित विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय पोशाक वितरण गरेको छ। वि.पि. आधारभूत विद्यालय , माझपोखरी काउरे, स्याङ्जाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शिशु कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ६ वटा विद्यालयका विद्यार्थीहरूलाई जाडो यामलाई दृष्टिगत गरी न्यानो विद्यालय पोशाक वितरण गरिएको हो। कार्यक्रमको उद्देश्य जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्नुका साथै उनीहरूको विद्यालय उपस्थितिमा अभिवृद्धि गर्दै शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सहयोग पुर्‍याउनु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम नमुना क्लबका अध्यक्ष  दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आधिखोला गाउँपालिकाका अध्यक्ष  विश्व पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधिहरू, शिक्षा शाखाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  पौडेलले बालबालिकाको सर्वाङ्गीण विकासमा शिक्षा, स्वास्थ्य तथा पोषणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह, सामाजिक संघ–संस्था तथा समुदायबीचको सहकार्यबाट मात्र यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने बताउनुभयो। साथै उहाँले नमुना क्लबले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा नमुना क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले नमुना क्लब स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई मुख्य आधार मानी विभिन्न सामाजिक, शैक्षिक तथा मानवीय सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। उहाँले यस प्रकारका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न हुन सहयोग पुर्‍याउनु हुने स्थानीय सरकार, विद्यालय प्रशासन, दाता, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा नमुना क्लबले उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने आधिखोला गाउँपालिका, सम्बन्धित विद्यालयहरू, विभिन्न संघ–संस्था, स्वयंसेवक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्