नेभिगेशन
सुरक्षा/अपराध

सालको रूख काट्ने विषयमा विवाद हुँदा एक जना घाइते

स्याङ्जामा सालको रूख काट्ने विषयमा विवाद हुँदा एक जना गम्भीर घाइते भएका छन्।पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते हुनुभएको  थियो । शनिबार राति करिब ८ बजेको समयमा भएको झगडाका क्रममा घाँटीको बाँया भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आरोपी फरार भएको सूचना प्रहरीले पाएको थियो ।

धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोप लागेका पुतलीबजार नगरपालिका–१४ धारापानीका ४९ वर्षीय विष्णु भन्ने टोपबहादुर अधिकारीलाई सतौं मैदानबाट आइतबार बिहान ३:२५ बजे पक्राउ गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो।

पक्राउ परेका अधिकारीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते पूर्णबहादुर अधिकारीको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्