वालिङ्को बालसिद्ध माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी थालेको छ। वालिङ–७, केवरे भन्ज्याङमा अवस्थित विद्यालयले स्थापनाको ५० औं वर्ष पार गरेको अवसरमा यहि पुस २५ देखि २९ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन लागेको हो।
विद्यालयले स्थापनाको ५० औं वर्ष पूरा गरेको अवसरमा विद्यालयको विकास र उत्थानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै महोत्सव सफल पार्न सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ। स्वर्ण स्तम्भ निर्माण, स्वर्ण स्मारिका प्रकाशन, संस्थापक, सहयोगदाता, पूर्व पदाधिकारी, शिक्षक कर्मचारी तथा पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान, बौद्धिक, खेलकुद, सांस्कृतिक तथा रचनात्मक प्रतियोगिता संचालन गरी स्वर्ण महोत्सवलाई शैक्षिक महोत्सवका रूपमा मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक तारा प्रसाद रेग्मीले बताउनुभयो।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयको शैक्षिक र भौतिक विकासका लागि स्वैच्छिक आर्थिक सहयोग गर्न प्रधानाध्यापक रेग्मीले विद्यालयलाई माया गर्ने सबैलाई आग्रह गर्नुभएको छ। शुभेच्छुकबाट प्राप्त सहयोग प्रविधिमैत्री स्मार्ट कक्षा सञ्चालन, शिक्षकहरूको क्षमता विकास तालिम, विद्यार्थी छात्रवृत्ति एवं शैक्षिक सामग्री व्यवस्थापनका लागि अक्षयकोष स्थापना आदिमा खर्च गरिने उहाँले बताउनुभयो। दाताहरुबाट प्राप्त हुने सहयोगलाई विद्यालयको वृहत्तर हितमा प्रयोग गरि शैक्षिक गुणस्तर वृद्धिमा विशेष जोड दिने विद्यालयका प्रधानाध्यापक तारा प्रसाद रेग्मीले बताउनुभयो ।
स्वर्ण महोत्सवलाई सफल बनाउन विद्यालयले विभिन्न चरणमा गरि समाजसेवी, संस्थापक, राजनैतिक दलका प्रतिनिधीहरु, समाजिक व्याक्तित्व, भूतपुर्व सैनिक, आमा समुह, युवा क्लव, पूर्व विद्यार्थी, पदाधिकारी लगायत आम सरोकारवालाहरुसँग छलफल गरि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लक्ष्मीकान्त रेग्मीको संयोजकत्वमा मुल समारोह समिति सहित विभिन्न ११ वटा उपसमिति समेत गठन गरेको छ ।
स्मारिका प्रकाशन समितिको संयोजकमा भोजराज गुरुङ्ग, निर्माण समितिमा बखत बहादुर गुरुङ्ग, प्रचार प्रसारमा होमनाथ रेग्मी, अतिथि सत्कारमा ममता सिह, सांस्कृतिक कार्यक्रममा छाया गुरुङ्ग, अतिरिक्त क्रियाकलापमा यमलाल भट्टराई, स्वास्थ्य तथा सरसफाइमा हुम बहादुर विक, सचिवालयमा तुल्सीराज रेग्मी, पुरस्कार तथा सम्मानमा कुशल काफ्ले, आर्थिक संकलनमा ङन प्रसाद अर्याल तथा स्वयं सेवक परिचालनमा जगदिश रेग्मीलाई संयोजकको जिम्मेवारी दिएको छ ।
स्वर्ण महोत्सवको अवसरमा पुस २५ गते प्रभात फेरी, विद्यालय स्तरिय बौद्धिक तथा खेदकुद कार्यक्रम, २६ गते नगर स्तरिय अन्तर विद्यालय प्रतियोगीता, २७ गते उद्घाटन समारोह, लोक संस्कृति तथा स्थानीय झाँकी प्रदर्शनी, सहयोगदाता सम्मान, २८ गते पूर्व शिक्षक तथा विद्यार्थी पुनर्मिलन, शैक्षिक अन्तरकृया, पुरस्कार तथा छात्रवृत्ति वितरण, सहयोगदाता सम्मान तथा २९ गते समापन समारोह र्हने विद्यालयका सूचना अधिकारी तथा सहायक प्रधानाध्यापक रेशम रेग्मीले जानाकारी दिनुभयो । साथै हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकार मार्फत मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने विद्यालयमा आयोजित विशेष कार्यक्रममा जानकारी गराइएको थियो । वि.स. २०१५ मा जनहित प्रा. वि., २०२८ मा नि. मा. वि. हुदै वि. स. २०३२ मा बालसिद्ध मा. वि. स्थापनाको ५० औं बसन्तको यात्रा पूरा गरेको छ ।
विद्यालयले स्वर्ण महोत्सव सफल बनाउनका लागि संस्थापक तथा पूर्व विद्यार्थी, पूर्व शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, युवा क्लव, स्थानीय सरकार, नियमनकारी निकाय, नागरिक समाज, पत्रकार, सुरक्ष।कर्मी तथा समस्त शुभेच्छुकहरुलाई विशेष अनुरोध गरेको छ । यस विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन हुदै आएको छ ।