नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

कोल्मामा सम्पन्न क्रसकन्ट्री दौडमा आर्मीका रावलले तोडे आफ्नै रेकर्ड

पाँचौँ संस्करणका च्याम्पियन नेपाली सेनाका धावक श्री करण रावलज्यूले छैटौँ संस्करणको क्रसकन्ट्री दौडमा पनि आफ्नो वर्चस्व कायम राख्नुभएको छ। ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारासहित सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको उक्त प्रतियोगितामा रावलज्यूले २५ किलोमिटर दूरी एक घण्टा २७ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो। यससँगै उहाँले आफ्नै नाममा रहेको अघिल्लो रेकर्ड २२ सेकेन्डले तोड्न सफल हुनुभएको छ।

मङ्गलबार सम्पन्न दौडमा नेपाली सेनाकै श्री अर्जुन बुढाज्यूले एक घण्टा २९ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ भने संखुवासभाका श्री तेन्जिङ शेर्पाज्यूले एक घण्टा ३१ मिनेट १७ सेकेन्डमा दूरी पार गरी तृतीय हुनुभएको छ। प्रथम, द्वितीय र तृतीय हुने धावकहरूले क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ।

२१ वर्षमुनिका पुरुषतर्फको १० किलोमिटर दौडमा सल्यानका श्री बबिन योगीज्यूले ४० मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको छ। उहाँले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। त्यस्तै, कपिलवस्तुका श्री अजय पाण्डे क्षेत्रीज्यू ४१ मिनेट ४४ सेकेन्डका साथ द्वितीय र बागलुङका श्री बादल कार्कीज्यू ४३ मिनेट ४२ सेकेन्डमा तृतीय हुनुभएको छ। उहाँहरूलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी, खुला महिलातर्फको १० किलोमिटर क्रसकन्ट्री दौडमा नेपाली सेनाकी श्री सिर्जना पाण्डेज्यूले ५० मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ। उहाँले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। उपविजेता दैलेखकी श्री द्रोपता कुमारी कठायतज्यूले ५६ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै १५ हजार रुपैयाँ र ५९ मिनेट ३७ सेकेन्डका साथ तृतीय हुनुभएको भोजपुरकी श्री अनिता राईज्यूले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको कुरा मञ्चका महासचिव श्री जीवनप्रसाद पोख्रेलज्यूले जानकारी दिनुभयो।

विद्यार्थी पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ रोशन साङ्ताङ प्रथम, सुजन कार्की द्वितीय र विशाल राना तृतीय हुनुभएको छ भने छात्रातर्फ एन्जिला जिटी प्रथम, सपना परियार द्वितीय र रोशनी नेपाली तृतीय हुनुभएको छ। रिले दौडमा छात्र-छात्रा दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्राप्त गरेका छन्।

साथै, 'रन फर फन' तर्फ ३० वर्ष माथिका महिलाको लुङ्गी दौडमा श्री सरिता बुढा मगरज्यू प्रथम, श्री नेत्र कुमारी पौडेलज्यू द्वितीय र श्री बालकुमारी भट्टराईज्यू तृतीय हुनुभएको छ। उहाँहरूले क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ प्राप्त गर्नुभएको छ।

प्रतियोगिताका विजेताहरूलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापाज्यूले पुरस्कार वितरण गर्नुभएको थियो। पुरस्कार वितरण गर्दै मन्त्री थापाज्यूले यस्ता प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै युवाको सक्रिय सहभागिता र स्थानीय खेलकुद संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले युवा, खेलकुद र स्थानीय प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकार आवश्यक सहकार्य र सहयोगमा निरन्तर प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो।

ग्रामीण क्षेत्रमा पनि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना सम्भव छ भन्ने सन्देश दिनुका साथै खेलकुद पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। क्रसकन्ट्री दौडमा सहभागी भएर दोस्रोपटक २५ किलोमिटर दौडमा उपाधि जित्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै विजेता रावलज्यूले आगामी संस्करणमा पनि सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ।

२५ किलोमिटर दौड प्रतियोगिता पुतलीबजार नगरपालिका –९ स्थित कोल्मा बराहचौरबाट सुरु भई काहुले, डाँडास्वारा, नाम्चे, काल्खु, खल्लुवोट, बिसाउना, खुदी, मङ्किना हुँदै पुनः कोल्मा बराहचौरमै पुगेर समापन भएको थियो। १० किमि दौड पनि बराहचौरबाट सुरु भई सतीडाँडा, काहुले, ज्यामीरे, चिरुवा, भैंसेगौंडा, राङ्भाङ मैदान हुँदै बराहचौर र ५ किमि दौड बराहचौरबाट पोखरीछाप, थुम्कीडाँडा, बाँस्पानी, रामचौतारा हुँदै पुनः बराहचौरमै टुंगिएको थियो। प्रतियोगितामा २५ किलोमिटरमा २० जना, १० किलोमिटर पुरुषमा ६५, महिलामा १०, पाँच किलोमिटर छात्रमा ६५, छात्रातर्फ २१ र रन फर फनमा १३ जना खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्