स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं —१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवको उपाधि जितेको छ। रनिङ शिल्ड तर्फ ४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पञ्चकन्या माविले २५ स्वर्ण, १० रजत र ७ कास्यसहित कुल ४२ पदक जित्दै उपाधिको रक्षा गरेको हो। खेल अवधिभर दबदबा कायम राखेको पञ्चकन्याले लगातार तेस्रो पटक जित निकाल्दै रनिङ शिल्डमाथि ह्याट्रिक गर्न सफल भएको हो। यस्तै घण्टे माध्यमिक विद्यालयले १० स्वर्ण, १२ रजत र १० कास्य पदक सहित ३२ पदक जित्दै द्वितीय स्थान हासिल गरेको छ भने जन माध्यमिक विद्यालय ३ स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै तृतीय बनेको छ।
त्यसैगरी, शैक्षिक महोत्सवअन्तर्गत भएको प्रतिस्पर्धामा अर्जुन चौपारी चिल्ड्रेन एकेडेमीले १० स्वर्ण, ६ रजत र ३ कास्यसहित १९ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ। शैक्षिक महोत्सव तर्फ पञ्चकन्या माविले ४ स्वर्ण, ४ रजत र २ कास्य जित्दै द्वितीय र शीतला देवी इङ्लिस स्कुलले ३ स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै तृतीय स्थान प्राप्त गरेका छन्।
विद्यार्थीले आफ्नो नेतृत्व र क्षमता देखाउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरिएको कुरा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। शैक्षिक महोत्सवले विद्यार्थीमा खेलकुदको रुचि बढाउने तथा उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने अध्यक्ष तिवारीज्यूको भनाइ थियो।
यहाँ रनिङ शिल्ड तर्फ शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, बिच भलिबल तथा एथलेटिक्स खेल खेलाइएको थियो। यस्तै शैक्षिक महोत्सवमा मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्विक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड र बोरा दौड जस्ता खेलहरू सञ्चालन गरिएको थियो। प्रतियोगितामा प्रथम हुने पञ्चकन्या माविले २० हजार रुपैयाँसहित रनिङ शिल्ड र कप प्राप्त गरेको छ भने द्वितीय हुने घण्टे माविले १५ हजार र तृतीय हुने जन माविले १० हजार रुपैयाँ प्राप्त गरेका छन्। तीन दिनसम्म चलेको उक्त खेलकुद महोत्सवमा २९ विद्यालयका करिब एक हजार खेलाडी सहभागी रहेका थिए।
दुई प्रतिस्पर्धी : उत्कृष्ट र इमर्जिङ तेस्रो राष्ट्रपति रनिङ शिल्डमा घण्टे माविकी छात्रा विनीता क्षेत्री र पञ्चकन्याकी छात्रा विनीशा जिसी बीच कसले बढी मेडल जित्ने भन्ने रोचक प्रतिस्पर्धा चलेको थियो। १७ वर्षीया विनीता र १२ वर्षीया विनीशा आफूलाई अब्बल सावित गर्ने दौडमा थिए। अन्ततः दोस्रो राष्ट्रपति रनिङ शिल्डकी उत्कृष्ट खेलाडी विनीताले ९ पदकसहित आफ्नो उत्कृष्ट खेलाडीको उपाधि जोगाउन सफल हुनुभयो भने विनीशाले इमर्जिङ खेलाडीको उपाधि हात पार्नुभयो। उस्तै–उस्तै नाम भएका यी दुई प्रतिभाले सबैलाई चकित पार्दै जिल्ला स्तरीय प्रतियोगितामा समेत आफूलाई अब्बल सावित गर्ने आँट देखाएका छन्।
घण्टे माविले १० स्वर्ण पाउँदा विनीता एक्लैले ४०० मिटर दौड, २०० मिटर दौड, १०० मिटर रिले र ट्रिपल जम्पमा स्वर्ण जित्नुभएको हो। उहाँले ४०० मिटर रिले, लङजम्प, हाइजम्प र भलिबलमा रजत तथा १०० मिटर दौडमा कास्य पदक जित्नुभएको थियो। यस्तै विनीशाले ४०० मिटर दौड (६–८), ४०० मिटर रिले, लङजम्प (६–८ र ६–१२), २०० मिटर दौड र १०० मिटर दौडमा स्वर्ण जित्दा १०० मिटर रिलेमा रजत पदक जित्नुभएको हो।
संस्थागत तर्फ अर्जुन चौपारी चिल्ड्रेन एकेडेमीकी श्रेया रोकाले समेत आफ्नो दावेदारी बलियो रूपमा प्रस्तुत गर्नुभयो। उहाँले हाइजम्पमा स्वर्ण, कबड्डी, लङजम्प र २०० मिटर दौडमा रजत तथा भलिबल, ४०० मिटर दौड, १६०० मिटर दौड, १०० मिटर रिले र ४०० मिटर रिलेमा कास्य पदक जित्दै कुल ९ पदक आफ्नो पोल्टामा पार्नुभयो। साथै, पहिलो पटक आयोजना गरिएको महिला भलिबलतर्फ १४ वर्षीया सिमरन मियाँ भलिबलकै उत्कृष्ट खेलाडी घोषित हुनुभयो।