नेभिगेशन
शिक्षा तथा खेलकुद

वालिङमा नेपाल आदर्श मावि प्रथम, २१ पदक जित्दै उचाल्यो रनिङ शिल्ड

स्याङ्जाको वालिङ नगरपालिकामा आयोजित दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालयले हात पारेको छ। वालिङ नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आदर्शले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो। प्रतियोगिताले नगरभित्रका विद्यालयहरूमा खेलकुदको नयाँ उत्साह जगाएको छ।

प्रतियोगितामा ३०–३० स्वर्ण, रजत र कास्य पदकका लागि भएको घम्साघम्सीपूर्ण प्रतिस्पर्धामा नेपाल आदर्श माविले ११ स्वर्ण, ६ रजत र ४ कास्य गरी कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो। त्यस्तै, पूर्णमृत भवानी माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गर्दा लक्ष्मी माध्यमिक विद्यालय ३ स्वर्ण र ५ रजत पदकका साथ तेस्रो बनेको छ।

उपाधिसँगै विजेता नेपाल आदर्श माविले ३० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने पूर्णमृत भवानी माविले २० हजार रुपैयाँ र तेस्रो हुने लक्ष्मी माविले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गरेका छन्। विजयी विद्यालय र खेलाडीहरूलाई नगरका प्रतिनिधि तथा अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।

नगरभित्रका २९ वटा सामुदायिक तथा संस्थागत विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ विभिन्न दूरीका दौड, रिले दौड, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प र ज्याभलिन थ्रो लगायतका खेलहरू समावेश गरिएका थिए।

नगरपालिकाले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्नेछन्। खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गर्न नगरपालिकाले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्