पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२औँ वार्षिक खेलकुद कार्यक्रम शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ। बिहीबारदेखि विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त त्रिदिवसीय समारोहको समापन गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले गर्नुभयो।
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि डा. पौडेलले नियम र अनुशासनको अर्को नाम खेलकुद भएको र यसको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने बताउनुभयो। हरेक क्षेत्रमा नियम सर्वाधिक महत्त्वपूर्ण हुने भन्दै उहाँले नियम उल्लङ्घन गरी जितिएको खेललाई वास्तविक खेल मान्न नसकिने धारणा राख्नुभयो। "खेलमा सहभागी भइसकेपछि जित–हार प्राविधिक विषय हो, तर म खेल खेल्छु भन्ने दृढता नै खेलाडीको वास्तविक जित हो," उहाँले भन्नुभयो।
सचिव पौडेलले विकसित राष्ट्रहरूमा राज्यले नै बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने प्रचलन रहेको तर नेपालमा त्यो अवस्था पूर्ण रूपमा विकास नभइसकेको सन्दर्भ कोट्याउनुभयो। उहाँले भन्नुभयो, "प्रदेशको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको जिम्मेवारी वहन गरेको मन्त्रालय भएका नाताले एसओएसजस्तो मानवतावादी संस्थासँग सहकार्य गर्ने विषयलाई मन्त्रालयले विशेष चासोका साथ लिएको छ।"
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले सामाजिक रूपान्तरण, राष्ट्रिय गरिमा र आपसी भाइचाराको सम्बन्ध विकास गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले यही मान्यतालाई आत्मसात् गर्दै वडाले आगामी माघ ५ देखि १० गतेसम्म खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी समेत दिनुभयो।
एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै सह–प्रधानाध्यापक प्रभास पौडेलले खेलको आयाम र जीवनमा यसको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले यस वर्षको खेलकुद दिवसमा ६५ खेल समावेश गरिएकोमा अघिल्ला दुई दिन ४९ खेल सम्पन्न भएको र समापनका दिन १६ वटा खेल खेलाइएको जानकारी दिनुभयो।
माछापुच्छ्रे सदन च्याम्पियन वार्षिक खेलकुद कार्यक्रममा विद्यालयको माछापुच्छ्रे सदन यस शैक्षिक सत्रको विजेता (च्याम्पियन) बन्न सफल भयो भने धौलागिरि सदन उपविजेता बन्यो। त्यस्तै, उत्कृष्ट मार्च पासको उपाधि अन्नपूर्ण सदनले जित्यो भने गौरीशङ्कर सदन सर्वाधिक अनुशासित सदन घोषित भयो। कक्षा ११ र १२ तर्फ भने गौरीशङ्कर सदन विजेता तथा अन्नपूर्ण सदन उपविजेता बन्न सफल भए। विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. पौडेल, वडाध्यक्ष बानियाँ तथा प्रधानाध्यापक सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, नगद पुरस्कार तथा पदक प्रदान गर्नुभयो।
सांस्कृतिक तथा खेल प्रस्तुति समारोहमा माध्यमिक तहका विद्यार्थीबीच दौड, हाई जम्प, लङ जम्प, टग अफ वार लगायतका खेल सम्पन्न भए भने शिशु कक्षाका बालबालिकाबीच बेलुन ब्रस्ट, म्युजिकल चियर जस्ता मनोरञ्जनात्मक खेल आयोजना गरिएको थियो। समारोहमा २५६ जना विद्यार्थीले ‘स्वागत’, ‘एसओएस’ र नेपालको राष्ट्रिय झन्डाको आकृति बन्ने गरी साङ्गीतिक प्रस्तुति (Cultural Drill) दिएका थिए। साथै तामाङ सेलो, मगर कौरा र नेवारी लाखे नाच लगायतका सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो। अभिभावकहरूका लागि ‘तातो आलु’ प्रतियोगिता समेत आयोजना गरिएको थियो।
खेलकुद अवधिभर हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै विद्यालयको जुनियर रेडक्रस र गण्डकी मेडिकल कलेजका भूतपूर्व विद्यार्थी चिकित्सकहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख, समाजसेवी, शिक्षाविद् तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।