नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

आँधीखोलामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जाको आँधीखोला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। गाउँपालिकाको वडा नं. ६ स्थित शिम्ले खेलमैदानमा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले ठूला देशहरू हतियारले परिचित हुँदा साना देशहरू खेलकुदका माध्यमबाट विश्वसामु चिनिएको बताउनुभयो। राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता प्रतियोगिताले गाउँस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सीता थापा, प्रद्युम्न पनेरु माविका प्रधानाध्यापक दीप्तिनारायण पौडेल लगायतले मन्तव्य राख्दै खेलाडीहरूलाई अनुशासित भई खेल प्रदर्शन गर्न शुभकामना दिनुभएको थियो।

प्रतियोगितामा भलिबल, कबड्डी, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प तथा एथलेटिक्स अन्तर्गतका विभिन्न खेलहरू समावेश गरिएको छ। पुस ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा गाउँपालिका भित्रका १९ विद्यालयका करिब नौ सय विद्यार्थीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्