करुङ बयरघारी मदर्शाको नतिजा प्रकाशन एवं २४औं साधारण सभा तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ। मदर्शा व्यवस्थापन कमिटीका अध्यक्ष मोहम्मद जुमाल अलिको अध्यक्षता र भीरकोट नगरपालिका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष श्यामकाजी अधिकारी, वडा नं १ का कार्यवाहक वडाध्यक्ष मोहमद मियाँ, भीरकोट नगरपालिका लेखा अधिकृत तथा मदर्शा व्यवस्थापन कमिटीका संरक्षक हाजी जब्बार अलि , ईमाम सहाबहरु, हाजी हजीनहरु, मदर्शा व्यवस्थापन कमिटीका संरक्षण, सल्लाहकार ज्युहरू, मुस्लिम क्लवका युवाहरु, विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो।
मुस्लिम समुदायलाई सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले मदर्शामा गुणस्तरीय शिक्षाको व्यवस्था गराउन नगरपालिकाले आवश्यक सहयोग बताउनुभयो। वडा नं २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीले मदर्शामा शुद्ध खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उत्कृष्ट नतिजा प्राप्त गर्ने मदर्शा नुरुल उलुम स्कुलका आतिफ मिया र अहले सुन्नत गौसीया मदर्सा बाट सकिना खातुनलाई हौसला बढाउन पुरस्कार नगद ५००/५०० रुपैयाँ करूङ बयरघारी मुस्लिम समाज कतारका संरक्षक रहिम मियाँले हस्तान्तरण गर्नु भयो।
विद्यार्थीहरुको नतिजा प्रकाशन जमात (कक्षा) अनुसार, खेलकुदमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई स्टेसनरी र मेडल प्रदान गरिएको थियो। सरसफाइमा उत्कृष्ट हुने विद्यार्थीहरु सारा खातुन र अमरीन खातुनलाई कमिटीले पुरस्कार दिएको थियो।मदर्शालाई स्मार्ट बनाउन पुस्तकालय र कम्प्युटरहरुको व्यवस्था गरी विद्यार्थीहरुलाई आधुनिक तरिकाबाट पनि शिक्षा दिने तयारी भैरहेको कमिटीका अध्यक्ष अलिले जनाउनुभयो।
मदर्शाका शिक्षक हाफिज अब्दुल रहिमले कुरान पढेर कार्यक्रम सुरु भएको कार्यक्रममा आर्थिक आयव्यय कमिटीका कोषाध्यक्ष मोहम्मद जाफर अलिले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम मदर्शा व्यवस्थापन कमिटीका सचिव कुदरत अलि मियाले सञ्चालन गर्नु भएको थियो। स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष दिन अहमद मियाँले गर्नुभएको थियो। 
मुस्लिम समुदायको भाषा, धर्म र मौलिक संस्कारको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएका मदर्शा नुरुल उलुम स्कुलमा ३० जना र अहले सुन्नत गौसीया मदर्सा मा ९४ जना गरि १ सय २४ जना विद्यार्थी अध्ययरत छन्।