नेभिगेशन
शिक्षा तथा खेलकुद

स्याङ्जाबाट ४ हजार २ सय ७५ विद्यार्थी  एसईई मा सहभागी हुँदै 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २ सय ७५ जना एसईई विद्यार्थी सहभागी हुने भएका छन् ।३ हजार २ सय २१ जना नियमित र १ हजार ५४ जना  ग्रेडवृद्धितर्फ गरी जम्मा ४ हजार २ सय ७५ जना एसईई विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्गजाका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । 

यहि चैत्र १९ गतेबाट शुरु हुने एसईई परिक्षमा यसपटक छात्रा भन्दा छात्रको संख्या धेरै देखिएको छ ।  २ हजार १ सय १ जना छात्राको संख्या हुँदा २ हजार १७४ जना छात्रको संख्या रहेको छ । यो पटकको एसईईमा छात्रा भन्दा छात्रको संख्या ७३ जनाले बढी देखिएको छ । 

त्यस्तै, जिल्लामा प्राविधिकतर्फ ६ वटा विद्यालयका १ सय १६ जना विद्यार्थी एसईई मा सहभागी हुने  भएका छन् । यहाँको महिमा मा.वि., हरिनास, नवज्योति मा.वि., विरुवा, त्रिशहिद मा.वि., आँधीखोला, पञ्चकन्या  मा.वि., अर्जुनचौपारी, पुर्णामत भवानी मा.वि., वालिङ र भानुभक्त मा.वि.,गल्याङ गरी ६ वटा विद्यालयका १ सय १६ जना विद्यार्थीले प्राविधिक तर्फबाट एसईई मा सहभागी हुने  भएका  हुन् । 

त्यस्तैगरी संस्कृत/वेदविद्याश्रम  तर्फ १६ जना  विद्यार्थी  एसईई मा सहभागी हुने  शिक्षा विकास तथा  समन्वय इकाइका सूचना अधिकारी सुवेदीले जानकारी दिए । यहाँको गुरुकुलम आँधीखोलाबाट ६ जना, श्री रामनदी धाम गुरुकुलम, गल्याङबाट ७ जना, मणीमुकुन्देश्वर चापाकोटबाट २ जना र राधादामोदर संस्कृत विद्यालयबाट १ जना गरी १६ जना विद्यार्थी  एसईई मा सहभागी हुनेछन् । 

११ पालिका रहेको जिल्लामा हरेक पालिकामा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभर २१ परिक्षा केन्द्र रहेका छन् । भने परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक उक्त परिक्षा केन्द्रको केन्द्राध्यक्ष हुने व्यवस्था छ । 

जिल्ला शिक्षा तथा  समन्वय ईकाई कार्यालयले एसईई तयारीलाई तीव्र रूपमा  अगाडि बढाएको जिल्ला शिक्षा समन्वय इकाई   प्रमुख विश्वराज आचार्यले बताए ।उनले भने , “हामीले केन्द्राध्यक्षसँग छलफल गर्ने र परीक्षा केन्द्र रहेका विद्यालयको अनुगमन गरिरहेका छौं । परीक्षा शुरु हुन ३ दिन अगाडि मात्रै केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण प्रदान गर्नेछौँ ।” टाढा रहेका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्र्याईएको छ भने नजिकका केन्द्रहरुमा क्रमश: पुर्र्याइने  उनले बताए  । 

सबैभन्दा धेरै परीक्षा केन्द्र वालिङमा रहेको छ । वालिङमा ५ परिक्षा केन्द्र रहेको छ भने पुतलीबजारमा ३ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिकामा २/२ परीक्षा केन्द्र तोकिएको छ ।  कालीगण्डकी गाउँपालिकामा पनि २ परीक्षा केन्द्र रहेका छन् । त्यस्तै फेदिखोला, आँधीखोला, हरिनास, विरुवा र अर्जुनचौपारी गाउँपालिकामा भने १/१ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए  ।

विद्यार्थी संख्या घट्दा घटे परीक्षा केन्द्र 

गत वर्ष स्याङ्जाबाट ४ हजार ९ सय ९२ विद्यार्थी एसईई परीक्षामा  सहभागी  भएका थिए ।यसवर्ष गत वर्षको तुलनामा ७ सय १७ जना विद्यार्थी कम भएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्गजाका प्रमुख विश्वराज  आचार्यले जानकारी दिए ।पहाडी क्षेत्रमा एउटा परीक्षा केन्द्रमा न्युनतम २ सय ५० विद्यार्थी हुनुपर्ने व्यवस्था अनुसार  विद्यार्थी संख्या कम भएका   परीक्षा केन्द्रहरू खारेज गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।गत वर्ष जिल्लामा २५ वटा परीक्षा केन्द्र रहेकोमा यस पटक २१ वटा मात्रै कायम गरिएको छ । वालिङ नगरपालिकाभित्रका सरस्वती मा.वि., खानीडाँडा  र बालसिद्ध मा.वि, केवरे , पुतलीबजार नगरपालिकाको सरस्वती मा.वि., नागडाँडा  र त्रिभुवन आदर्श मा.वि., स्याङ्गजाको “ख” केन्द्र   वालिङ गरी ४ वटा परीक्षा केन्द्र खारेज  गरिएको छ ।यो वर्ष सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन आदर्श मा.वि., पुतलीबजारमा रहेका छन् ।यहाँ नियमित तर्फ ११७ र ग्रेड वृद्धितर्फ २४ गरी जम्मा १४१ विद्यार्थी रहेका छन् ।यस्तै,  संस्थागततर्फ सबैभन्दा धेरै विद्यार्थी पायोनिअज मा.वि. , वालिङमा रहेका छन् । यहाँ नियमिततर्फ ८६ र ग्रेडवृद्धितर्फ ४ जना गरी ९० जना विद्यार्थी रहेका छन् ।

वालिङबाट मात्रै ७ सय ५२ विद्यार्थी एईई मा सहभागी  हुँदै

स्याङ्जाको मध्य भागमा रहेको वालिङ नगरपालिकाबाट मात्रै ७ सय ५२ विद्यार्थी एसईई परीक्षामा  सहभागी  हुँदैछन् । यहाँका सामुदायिक र संस्थागत गरी ७ सय ५२ परीक्षार्थीले एसईई दिँदैछन् । यहाँ सामुदायिकतर्फ २ सय ३० छात्रा र १सय ९२ छात्र गरी ४२२, संस्थागततर्फ १सय ४२ छात्रा र १ सय ८३ छात्र गरी ३३० जना परीक्षार्थीले एसईई दिँदैछन् । सामुदायिक विद्यालयमा छात्रा धेरै परीक्षार्थी रहँदा संस्थागततर्फ छात्रको संख्या धेरै देखिएको छ । वालिङमा १६ सामुदायिक र १२ संस्थागत गरी कुल २८ माध्यमिक विद्यालयका परिक्षार्थीले एसईईमा सहभागी  हुँदैछन् । 

यसैबीच यता पुर्णामृत भवानी माध्यमिक विद्यालयबाट ८२ जना विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन् भने खुल्ला विद्यालय तर्फ ६ जना विद्यार्थीले एसईई दिँदैछन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका साथै एसईईको नजिता राम्रो ल्याउन वालिङका सामुदायिक र संथागत दुवै  विद्यालयहरुले विद्यालयभित्रै अतिरिक्त कक्षाको व्यवस्था गरी परीक्षाको तयारी गरेका छन् । पुर्णामृत भवानी मा.वि. मा ५२ जना विद्यार्थीहरुलाई विद्यालयमै राखेर अध्ययन गराईएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताए  । मंसिर देखि नै ५२ जना विद्यार्थीहरुले विद्यालयमै आवासीय सुविधामा अध्ययन गरिरहेको उनले जानकारी दिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्