भीरकोट नगरपालिकाको वडा नं ८ मा अवस्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयले अभिभावक शिक्षा कार्यक्रम मार्फत शैक्षिक सत्र २०८३ को शुभारम्भ गरेको छ। विद्यालयमा एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा अभिभावकहरूलाई अभिभावक शिक्षा र विद्यार्थीहरूलाई नैतिक शिक्षा एवं आरोग्य शिक्षा कार्यक्रम गरिएको हो। भीरकोट नगरपालिका र वडा नं. ८ को कार्यालयको सहकार्यमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्रीले बताउनुभयो।
कार्यक्रममा भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले अभिभावकहरूलाई आफ्ना बालबालिकाको अध्ययन, व्यवहार तथा अनुशासनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सामुदायिक विद्यालयमा अभिभावकको न्यून चासो र सहभागिताका कारण अपेक्षित शैक्षिक उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासित, आज्ञाकारी भै सक्रिय रूपमा अध्ययनमा संलग्न हुन, मोबाइलको प्रयोग न्यून गर्न, स्वास्थ्यप्रति सचेत रहन तथा अभिभावकलाई घरायसी कार्यमा सहयोग गर्न सुझाव दिनुभएको थियो।

निवर्तमान नगर प्रमुख छायाराम खनालले घरलाई पहिलो पाठशालाको रूपमा व्याख्या गर्दै अभिभावकले बालबालिकालाई व्यवहारिक तथा नैतिक शिक्षा प्रदान गर्नु प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले शिक्षकहरूले बालमनोविज्ञानलाई आत्मसात् गरी शिक्षण कार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले विद्यालयमा र घरमा सकारात्मक तथा बालमैत्री वातावरण कायम भएमा शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी हुने भएकाले विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।विद्यार्थीको शैक्षिक उपलब्धि अभिवृद्धिका लागि अभिभावक, शिक्षक तथा विद्यार्थीको साझा र समन्वित भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो।
वडा अध्यक्ष नन्दलाल खनालले बालमैत्री वातावरण निर्माण गर्न वडाले सक्दो पहल गरिरहेको जानकारी दिदै अभिभावक शिक्षा र नैतिक शिक्षा एवं प्रशिक्षण उपयोगी रहेको बताउनुभयो। अध्यक्ष खनालले विद्यार्थीको स्वास्थको हक सुनिश्चित गर्न वडाभरीका विद्यार्थीहरूका लागि यही नयाँ शैक्षिक सत्रदेखी विद्यार्थी स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष चित्र बहादुर राना भुजेलले शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध सुमधुर बनाउन र शैक्षिक गुणस्तर सुधार गर्न प्रशिक्षण उपयोगी रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक गिता रोका क्षेत्रीले निशुल्क शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको बताउँदै अभिभावक र विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको थियो।
कार्यक्रममा अभिभावक शिक्षाका राष्ट्रिय प्रशिक्षक लक्ष्मी शर्मा र जीवन विज्ञानका स्याङ्जा संयोजक राधा अर्यालले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले बालबालिकाको समुचित पालनपोषण, सकारात्मक व्यवहार विकास तथा अभिभावकको जिम्मेवारी सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा अभिभावक र विद्यार्थीलाई योग, ध्यान , प्रणायामको प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण दिइएको थियो।उहाँहरूले बालबालिकाको समग्र विकासका लागि नैतिक शिक्षा, आरोग्य शिक्षा र स्पष्ट भविष्यदृष्टिको आवश्यकता औंल्याउनुभएको थियो।
कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन सहयोग गर्ने अपेक्षा गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। नैतिक एवं आरोग्य शिक्षाले बालबालिकामा सदाचार, अनुशासन, इमानदारीता, जिम्मेवारी र सहानुभूति जस्ता गुणहरू विकास गर्न सहयोग पुर्याउनुका साथै उनीहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुदृढ बनाउन सहयोग गर्ने पौडेलको विश्वास छ।