नेभिगेशन
शिक्षा तथा खेलकुद

स्याङ्जाका दुई स्थानीय तहमा आइतबार विद्यालय खुल्ने

स्याङ्जाका दुई स्थानीय तहमा आइतबार पनि विद्यालय खुल्ने भएका छन्। हरिनास र अर्जुनचौपारी गाउँपालिकामा आईतबार पनि विद्यालय सञ्चालन आउने भएका हुन् । 

नेपाल सरकारले पेट्रोलियम पदार्थको संकटका बेला देशभरका सरकारी कार्यालय, अन्य संघसंस्था तथा विद्यालयहरुमा शनिबार र आईतबार दिएकोमा यहाँका दुई पालिकाका विद्यालय खुला रहने भएका हुन् । 

नेपाल सरकारले बैशाख १५ गतेबाट विद्यालय भर्ना र २१ गतेबाट पठनपाठन शुरु गर्ने परिपत्र गरेपनि यहाँका विभिन्न पालिकाहरुले आफ्नो एकल अधिकार प्रयोग गरेर सरकारले तोकेको समय अगावै भर्ना तथा पठनपाठन गरेका छन् । 

संविधानले प्रदान गरेको गाउँपालिका तथा नगरपालिकाको एकल अधिकारको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ‘ज’ अनुसार आधारभुत तथा माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन सम्बन्धीत पालिकालाई दिईएको छ । 

यसै ऐनलाई आधार मानेर यहाँका हरिनास गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाले आईतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् । 

बैशाख ९ गतेबाट विद्यालयमा पठनपाठन थालेको अर्जुनचौपारीको कार्यपालिका, शिक्षा समिति तथा सरोकारवालाहरुको बैठक बसेर आईतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । 

पुरानै शैलीको पाठ्यक्रम रहेको र विदा समय लामो हुँदा पठनपाठन नसकिने तथा शैक्षिक गुणस्तरमा कमि आउने भन्दै यस्तो निर्णय गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । 

यस्तै हरिनास गाउँकार्यपालिका, शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिहरु तथा विद्यालयका प्रधानाध्यापकहरुको बैठकले बैशाख ८ देखि १४ गते भर्ना र १५ गतेबाट आईतबार समेत गरी नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो । 

वालिङ नगरपालिकाले बिहान ९ बजेबाट चारबजे सम्म पठनपाठन गरेको छ भने १० गतेबाट पठनपाठन सुरू गरेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्