नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

भीरकोटका  नौ  आधारभूत विद्यालय बालविकास केन्द्रमा सिमित

भीरकोट नगरपालिकामा रहेका नौ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र मात्रै कायम गरिएको छ । वडा नं. ३ मा रहेको २ वटा, ७ का २ वटा र वडा नं. ८ का ५ वटा विद्यालय समायोजन गरिएको नगर प्रवक्ता दिपेन्द्र के. सी. ले जानकारी दिनुभयो ।

वडा नं. ३ का जनविकास आधारभूत विद्यालय(रोजिखोला) र बटुकभैरव आधारभूत विद्यालय(बजारानी), वडा नं. ७ का बाघ भैरवी आधारभूत विद्यालय(चिउरीखर्क) र कालिका आधारभूत विद्यालय(खिलुङ) समायोजनमा परेका हुन् ।

यस्तै, समायोजनमा पर्नेमा वडा नं. ८ का अमर आधारभूत विद्यालय(पखेरे), प्रगतिशील आधारभूत विद्यालय (शालिकोश),रत्न देवीस्थान आधारभूत विद्यालय(खोरबार), सरस्वती आधारभूत विद्यालय(चिलाउनेखार्क) र देउराली भन्ज्याङ आधारभूत विद्यालय (सिरूखर्क) रहेका छन् ।

वडा नं. १ मा रहेको रानीरह आधारभूत विद्यालयलाई सोही वडाको  लक्ष्मी आधारभूत विद्यालय (गजौंदी) मा समायोजन गरिएको छ ।वडा नं. ९ को भविष्य निर्माण आधारभूत विद्यालयलाई कक्षा घटुवा गरी १-३ कायम गरिएको छ ।

विद्यार्थी संख्या एकदमै कम भएका विद्यालयहरू समायोजवा वा कक्षा घटुवा गरिएको शिक्षा शाखा प्रमुख खड्ग बहादुर रानाले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधि -२०८२ बमोजिम कक्षा १-३ सम्म ७ जना र १-५ सम्म १० जना न्युनतम विद्यार्थी संख्या नभएका विद्यालय समायोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालय समायोजन कार्यदल, भीरकोटका अध्यक्ष  एवम्  वडा नं ४ का अध्यक्ष रत्न प्रकाश श्रेष्ठले १२ वटा विद्यालय समायोजनका लागि सिफारिस गरेको जानकारी दिनुभयो। समायोजन गर्नुअघि विद्यालयको स्थलगत अनुगमन र सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरिएको उहाँले बताउनुभयो । सिफारिस गरिएका मध्ये वडा नं ५ को तिलाहार नेटा आधारभूत विद्यालय  समायोजनमा नपरेको हो ।

समायोजन कार्यदल र शिक्षा समितिले समायोजनका लागि सिफारिस गरेका विद्यालयहरूको विषयमा कार्यपालिका बैठकबाट निर्णय भैसकेको र   शैक्षिक सत्र २०८३ देखि कार्यपालिकाको निर्णयबमोजिम विद्यालय वा कक्षा समायोजन हुने शिक्षा शाखाले जनाएको छ ।

आगामी सोमबारसम्म समायोजन भएका विद्यालयका शिक्षक, कर्मचारी माग र आवश्यकताका आधारमा पायक पर्ने विद्यालयमा खटाइने शिक्षा शाखा प्रमुख रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्