नेभिगेशन
शिक्षा तथा खेलकुद

उद्यमशीलता र संस्कृतिको संरक्षणका  लागि पञ्चेबाजा तालिम

भीरकोट नगरपालिकामा वडा र नगरपालिकाको सहकार्यमा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको  छ। वडा नं. ५ को आयोजनामा २८ जना महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको  वडा अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो।

महिलाको सीप विकास, आत्मनिर्भरता र स्थानीय संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्दै दुई महिने पञ्चे बाजा बजाउने तालिम सञ्चालन गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले  भन्नुभयो, ‘मौलिक संस्कृतिको संरक्षण र उद्यमशीलता प्रवर्धन नै हाम्रो मुख्य उद्देश्य हो । जनजाती र दलित दुबै समुदायका महिलाहरूलाई हामीले तालिम दिएका छौं।’

तालिममा स्वरेक चण्डीकालिका आमा समूहका १६ जना  र माथिबारी गडीभञ्ज्याङ आमा समूहका १२ जना  गरी दुई समूहका २८  जना महिलाको सहभागिता रहेको थियो ।

नगर उपप्रमुख भगवती रेग्मी अर्यालले महिला सशक्तिकरणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले  भन्नुभयो, ‘महिलालाई उद्यमी बन्न प्रोत्साहन गर्न तथा पुस्तौँदेखि चलिआएको स्थानीय बाजा, कला र संस्कृतिको संरक्षण गर्न वडा र नगरपालिकाको सहकार्यमा तालिम दिइएको हो । हामीले दिएको तालिमले समुदायमा रोजगारीका अवसर विस्तार गर्नुका साथै सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ।’

तालिममा अनुभवी प्रशिक्षकहरू अर्जुन परियार, देबेन्द्र परियार र विक्रम परियारले प्रशिक्षण दिनुभएको थियो  । प्रशिक्षकहरूले बाजा बजाउने आधारभूतदेखि उन्नत अभ्यास, तालमेल र प्रस्तुतीकरणका पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी आमा समूहका महिलाहरूले यस अवसरप्रति खुसी व्यक्त गरेका छन्। स्वरेक चण्डीकालिका आमा समुहका अध्यक्ष मिना थापाले  आफ्नै ठाउँमा बसेर सीप सिक्न पाउँदा उत्साह र आत्मविश्वास थपिएको बताउनुभयो । तालिमपछि  व्यवसायिक रूपमा बाजा बजाउने योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘हामीले हाम्रो लोकसंस्कृतिको संरक्षण गर्ने जिम्मा पाएका छौं । यो जिम्मेवारी पूरा गर्न हामी सामुहिक रूपमा लाग्नेछौं ।’

पञ्चेबाजा तालिमका लागि उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत १ लाख ५० हजार रुपैयाँ र वडा कार्यालयबाट १ लाख ५० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्