नेभिगेशन
शिक्षा तथा खेलकुद

ढापुक सामुदायिक सिकाइ केन्द्रद्वारा ६ विद्यालयमा स्टेसनरी वितरण

ढापुक सामुदायिक सिकाइ केन्द्रले  भीरकोट नगरपालिकाका ६ वटा विद्यालयमा स्टेसनरी वितरण गरेको छ। वडा नं ८ र ९ का ५  वटा मा.वि र एक आधारभूत विद्यालयमा  पोषण सचेतना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको सिकाइ केन्द्रका अध्यक्ष दिल बहादुर नेपालीले जानकारी दिनुभयो।

असार १ र २ गते  दुबै वडाका पाँच माध्यमिक विद्यालय तथा एक आधारभूत विद्यालयका  ५० जना गरिब तथा जेहन्दार विद्यार्थीलाई झोला र स्टेसनरी वितरण गरिएको सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष रिबन कुमार विश्वकर्माले जानकारी दिनुभयो।

पोषण सचेतना तथा स्टेसनरी वितरण कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरू सहभागी भएका थिए। कार्यक्रम पिपलडाँडा माध्यमिक विद्यालय, सिर्कोट माध्यमिक विद्यालय, सिरुखर्क जोगीस्थान माध्यमिक विद्यालय,  पब्लिक एकेडेमी माध्यमिक विद्यालय, सूर्यमुखी आधारभूत विद्यालय र  ठूली भन्ज्याङ माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो।

कार्यक्रममा कालिकाकोट स्वास्थ्य चौकीका प्रमुख कुमार राना, ढापुक स्वास्थ्य चौकीका सिनियर अहेब  आशबहादुर गुरुङ, भीरकोट नगरपालिकाका शिक्षा अधिकृत विष्णुबहादुर भट्टराईले सहजीकरण गर्नुभएको थियो।

उहाँहरूले विद्यालय उमेरका बालबालिकाका लागि सन्तुलित आहार, स्वास्थ्यकर जीवनशैली, पोषणको महत्व तथा जंक (पत्रु) खानाका असरबारे  दिनुभएको थियो।

असार १ गते सिर्कोट माध्यमिक विद्यालयबाट सुरु भएको कार्यक्रम असार २ गते  पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा समापन गरिएको हो। समापन कार्यक्रममा विद्यालय व्यवस्थापन तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पोषणको भूमिका, स्वस्थ खानपानको महत्व तथा अभिभावकले बालबालिकाको खानपानमा ध्यान दिनुपर्ने विषयमा विशेष जानकारी प्रदान गरिएको थियो।यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायमा स्वास्थ्य र पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्