नेभिगेशन
समाचार

तीन सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घट्दो जन्मदरलाई रोक्न र जनसङ्ख्या सन्तुलन कायम गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमबाट गत आर्थिक वर्ष २०८२/८३ मा १७ परिवार लाभान्वित भएका छन्।

‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार मापदण्ड पूरा गरेका योग्य परिवारलाई दुई वर्षसम्म मासिक चार हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउन थालिएको गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टिकाकुमारी क्षेत्रीले जानकारी दिइन्।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाका अनुसार पहिले दुई सन्तानको नीति लिइए पनि पछिल्लो समय जन्मदर अत्यधिक घट्दै गएकाले भविष्यको जनसाङ्ख्यिक अवस्थालाई ध्यानमा राखेर यो प्रोत्साहन नीति ल्याइएको हो। यसले सन्तान हुर्काउन परिवारलाई आर्थिक राहतसँगै स्थानीय सरकारको साथ रहेको अनुभूति गराउने उनले बताइन्।

२०८२ साल साउनपछि सूचीकृत स्वास्थ्य संस्थामा तेस्रो सन्तान जन्माएका र नागरिकता, विवाहदर्ता, जन्मदर्ता जस्ता आवश्यक प्रक्रिया पूरा गरेका १७ परिवार अनुदानका लागि योग्य ठहरिएको स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले बताए। मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन र जनसङ्ख्या सन्तुलनका लागि सुरु गरिएको यो कार्यक्रमलाई जिल्लामै एक फरक र सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्