स्मार्ट संवाददाता , कालीगण्डकी
१७ फागुन २०७९
मानिसका लागि निःशुल्क स्वास्थ्य शिविर त सुनिएकै हो तर स्याङ्जाको कालीगण्डकी गाउँपालिका अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा पशु चौपायाको गोबर, परजीवि परीक्षणदेखि बाँझोपनसम्मको उपचार गरिएको थियो ।
गाउँमा निशुल्क पशु स्वास्थ्य शिविर हुने खबर पाउनासाथ स्थानीय किसान घरमा रहेका रोगी पशु चौपाया डो¥याएर निस्किएका थिए । शिविरमा ६१ घरधुरीले पाल्दै आएका १ सय ३१ भैंसी, १ सय ६४ बाख्रा, ७८ बंगुर, ३७ कुखुरा गरी कूल चार सय १० वटा पशुचौपाया तथा पक्षीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजेश पाण्डेयले जानकारी दिए।
९१ पशु चौपायाको गोबर परीक्षण , १ सय १३ को औषधोपचार, १६९ पशुको आन्तरिक तथा बाह्य परजीवी र बाँझोपनाको उपचार गरिएको छ । प्राविधिकहरुका अनुसार चौपायामा बाँझोपना अत्यधिक बढेको छ । गोबर परीक्षणको रिपोर्ट आएपछि रोगको संक्रमण हेरी पशु चौपायालाई थप उपचार गरिने बताइएको छ ।
पशु चौपायाहरूको उपचारका लागि फुकाएर टाढाटाढा लैजान निकै समस्या हुने गरेकामा गाउँमै शिविर आएपछि ठूलो राहत भएको स्थानीयले बताएका छन् । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको पुस्तकालय अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए।
कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको खुर्दी गाउँमा पशु निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक सेवा उपलब्ध गराएको बताइएको छ । उपयुक्त चरीचरन र पशुपालक किसानको बाक्लो बसोबासका कारण स्याङ्जा पशुपालनका दृष्टिले उपयुक्त मानिन्छ ।
कृषि तथा पशुपालनका दृष्टिले पकेट क्षेत्र बनाउन सकिने भएकाले पनि आयोजकले खोर्दीलाई शिविरका लागि उपयुक्त ठानिएको हो । खोर्दीका स्थानीयले नियमित रुपमा पशु चौपायाको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।