नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
स्वास्थ्य

भीरकोटमा एचपिभी खोपका लागि १९ वटा विद्यालयमा खोप केन्द्र

भीरकोट नगरपालिकामा एचपिभी खोप अभियान संचालनका लागि १९ वटा विद्यालयमा  खोप केन्द्र कायम गरिएको छ। यही माघ २२ गतेदेखि २७ गतेसम्म संचालन हुने खोप अभियान संचालनका लागि पालिकामा  ९ वटा स्वास्थ्य संस्था स्तरीय  र १९ वटा विद्यालय स्तरीय गरि जम्मा २८ वटा खोप केन्द्र कायम गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले जानकारी दिनुभयो।

खोप अभियान संचालनका लागि वडा नं १ को कन्साइन्स मा.वि. र बालज्योती मा.वि. ,वडा नं २ को दहथुम मा.वि., भू.पू. सैनिक एकेडेमी र बुद्ध मेमोरियल मा.वि. मा खोप केन्द्र कायम गरिएको छ। यसैगरी वडा नं ३ को कालिका आ.वि. , जनज्योति आ.वि. र सहिद शुक्र मा.वि. , वडा नं ४ को दभुङ ठाटी मा.वि. , वडा नं ५ को जनप्रिय मा.वि. , वडा नं ६ को भाग्योदय मा.वि. र बालोदय मा.वि. मा खोप केन्द्र कायम गरिएको छ।

वडा नं ७ मा महेन्द्रज्योती मा.वि. , वडा नं ८ मा पब्लिक एकेडेमी र सिरूखर्क जोगिस्थान मा.वि. , वडा नं ९ मा पिपलडाँडा मा.वि. , ठूलिभञ्जाङ मा.वि., सिर्कोट मा.वि र व राजेन्द्र भवानी मा.वि. मा गरि १९ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

 

महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि  भीरकोटका  १० वर्षदेखि १४ वर्ष उमेरसम्मका ८  सय ३३ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।नगर प्रमुख कर्माचार्यले  खोप अभियानलाई प्रभावकारी बनाउन शिक्षक, जनप्रतिनिधि र संचारकर्मीको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने भएकाले  कक्षा ६ -१० सम्म अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूले एचपिभी खोप अनिवार्य  लगाउनु पर्ने  उहाँले बताउनुभयो।

 

शुक्रबार पालिकामा बसेको नगरस्तरीय खोप समन्वय समिती र सरोकारवालाबिच भएको अन्तरक्रियामा  एचपिभी खोप र पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी दिंदै सापकोटाले यही क्यान्सरका कारण  नेपालमा हरेक दिन ४ जनाको मृत्यु भैरहेकाले लक्षित समुहले खोप अनिवार्य लगाउनुपर्ने बताउनुभयो। अन्तरक्रियामा उठेका जिज्ञासाको जवाफ एवं खोपको विषयमा थप जानकारी  प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार , स्याङ्जाका प्रमुख केशव चापागाईं र खोप फोकल पर्सन मनिस कुमार महतोले दिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्