नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
स्वास्थ्य

स्याङ्जामा पूर्ण खोप सुनिश्चित

स्याङ्जा जिल्लाका  जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ११ वटा स्थानीय तह रहेको स्याङ्जामा १६ महिनादेखि २३ महिनासम्मका २ हजार ७ सय ४६ जना अर्थात् शतप्रतिशत बालबालिकाले पूर्ण खोपको मात्रा पूरा गरेसँगै बिहीबार एक समारोहका बीचमा स्याङ्जालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो । पुतलीबजार नगरपालिकाले सुरु गरेको पूर्ण खोप सुनिश्चितता घोषणा पश्चात् चापाकोट नगरपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको थियो ।

‘‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गर्नुभएको हो।

कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहको सरकारको प्राथामिकताको विषय रहेको बताउनुभयो । उहाँले खोपको माध्यमबाट बाल मृत्युदर न्यूनीकरण गरी बालबालिकालाई सुरक्षित बनाउन सकिने हुँदा पूर्ण खोप घोषणा मात्रै नभई यसको दिगोपनाका लागि सबैको सहकार्य र समवन्य हुनुपर्ने बताउनुभयो। प्रदेश सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिएको भन्दै उनले आफू स्वास्थ्य मन्त्री भएपछि नीतिगत, कानुनी र सस्थांगत सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी समेत गर्नुभयो।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र स्याङ्जाले प्राप्त गरेसङ्गै जिल्लामा कुनै पनि अवस्था र परिस्थितिमा कुनैपनी बालबालिकालाई कुनैपनि खोप लिनबाट बन्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटिले बताउनुभयो ।

स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका ५२३ जना, भीरकोट नगरपालिकाका २५३ जना, हरिनास गाउँपालिकाका १३१ जना, बिरुवा गाउँपालिकाका ८६ जना, गल्याङ नगरपालिकाका ३२३ जना, आँधीखोला गाउँपालिकाका १४६ जना, अर्जुनचौपारी गाउँपालिकाका १५७ जना, वालिङ् नगरपालिकाका ६२० जना, फेदीखोला गाउँपालिकाका ११४ जना, कालीगण्डकी गाउँपालिकाका २०५ जना र चापाकोट नगरपालिकाका १८८ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो।

पूर्ण खोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । जन्मपश्चात् तोकिएका उमेर समूहका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुवेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने खोपको सबै मात्रा पाएको चापागाईंले बताउनुभयो । घरधुरी सर्वेक्षणमा खोप कार्ड नभएका बालबालिकालाई पनि खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनुभयो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणा गर्न अतुलनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट खोपकार्यकर्ताहरुलाई नगदसहित सम्मान पत्रले, स्वास्थ्य संस्थाहरुलाई नगदसहित प्रशंसा पत्रले र स्थानीय तह पालिकाहरुलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

२०७५ असार ३१ गते स्याङ्जा जिल्लालाई पहिलोपटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको र हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्ने कुरामा सम्पूर्ण सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।सहभागिहरुले अगामी दिनमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रोकाहा स्याङ्गजाका सक्रिय पत्रकार हन् ।