२०८२ सालको दशैं आउँन करिब २ महिना बाँकी छ । सामान्यतया दशैँ हरेक वर्ष उत्साह, उमंग र खुशी लिएर आउँछ । सरकारी कर्मचारीको पर्व भत्ता आउँछ । घरहरू रंगरोगन गरेर सिगारिन्छ । रोजगारीमा विदेश गएका आफन्तहरू घर फर्कन्छन । तर सबै ठाउँमा दशैंको उत्साह र उमङ्ग समान रूपले आउँदैन । त्यस्तै भएको छ भीरकोट नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा अर्थात् निर्माण भएको २६ वर्षपछि दशैँ आउनुभन्दा ३ महिना अगावै खिलुङ्देउराली स्वास्थ्य चौकी दशैँ आएझै चटक्क सिगारिएको छ । तारबार र प्रवेशद्वार समेत व्यवस्थित र आकर्षक बनाइएको छ ।
२०४४ सालमा चारकोठाको तिनले छाएको सामान्य भवनमा स्थापना भएको यो स्वास्थ्य चौकीको नयाँ भवन २०५६ सालमा बनेको थियो ।निर्माण भएयता उक्त भवनको रंगरोगन गरिएको थिएन । वडा नं ६ को मतदान केन्द्रको रूपमा समेत प्रयोग हुँदै आएको भवनको मर्मत संभार र रंगरोगन नहुँदा वेवारिसे सरकारी भवन जस्तो बनेको थियो ।
भवनको नवनिर्माण एवम् मर्मत सम्भारका लागि संघीय सरकारले स्वास्थ्य मन्त्रालय मार्फत भीरकोट नगरपालिकालाई ३८ लाख ८६ हजार बजेट उपलब्ध गराएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले जानकारी दिनुभयो । उपभोक्ता समितिमार्फत गरिएको निर्माणमा करिब ३३ लाख २२ हजार बजेट खर्च भएको समितिका अध्यक्ष लिलाप्रसाद रेग्मीले जानकारी दिनुभयो । २ वटा आवास सहित ६ वटा कोठामा सिमित रहेको भवनमा ५ वटा कोठा थपिएका छन् l सबै कोठाहरूमा टायल बिछ्याइएको छ l पुराना खिया लागेर पानी चुहिने भएका जस्ता पाता फेरेर रंगिन र आकर्षक जस्ता पाताले छाइएको छ । बिरामी कुर्ने प्रतिक्षालय निर्माण गरिएको छ । प्रतीक्षालयमा आकर्षक तरिकाले ढुंगा बिछ्याइएको छ l प्रतिक्षालय र कोठाहरूमा आवश्यकता अनुसार सिलिंग फ्यान र वाल फ्यान जडान गरिएको छ । वाईरिङलाई नविकरण गरिएको छ । फर्निचरहरू आवश्यकता अनुसार नविकरण र थप गरिएको छ । स्वास्थ्य चौकीको भौतिक संरचनामा असर पार्न सक्ने रूखहरू काटेर हटाइएको छ। हरेक कोठामा फल्स सिलिंग समेत राखिएको छ र झट्ट हेर्दा यो चौकी प्राथमिक अस्पताल जस्तै सुन्दर र व्यवस्थित बनेको छ ।चौकीलाई थप व्यवस्थित गर्न कार्यालय फर्निचर र बिजुलीको व्याकअपको व्यवस्थापन समेत व्यवस्थापन गर्नुपर्ने देखिन्छ। करिब २ महिनामै वर्षको हतारमा काम गरिएको हुँदा प्रवेशद्वारामा पुनर्लेखन गर्नुपर्ने देखिएको छ।
भीरकोट नगरपालिका वडा नं ६ भण्डारखोलामा अवस्थित यो स्वास्थ्य चौकीबाट गत आर्थिक वर्षमा ७ हजार ७ सय जना नागरिकले स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी प्रमुख युक्त नारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा नेपाल सरकारले तोकेका ९४ थरी औषधि नि:शुल्क उपलब्ध छन् । बर्थीङ सेन्टरको सुविधा समेत रहेको स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा, ग्रामीण भिडियो एक्सरे सेवा अन्तर्गत गर्भवती जांच सेवा,परिवार नियोजन सेवा, पाठेघरको स्क्रिनीङ सेवा, नियमित खोप सेवा, क्षयरोगको औषाधि, सुरक्षित गर्भपतन सेवा उपलब्ध छन् l