नेभिगेशन
स्वास्थ्य

स्याङ्जामा उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च 

सरकारले विवाह गर्ने समयनै तोकेर कानुनी हिसाबले विहेबारी २० पारि भनेर भनेको छ । प्रजनन स्वास्थ्यका दृष्टिकोणले २० बर्ष पश्चात गरिएको विहेबारीलाई राम्रो मानिन्छ। तरस्याङजामा भने उमेर नपुग्दै विवाह गर्नेको संख्या अत्याधिक रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङजाको तथ्याङ्कमा देखिएको हो । 

यहाँ आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार पाँच सय ५९ जनाले गर्भ जाँच गराएकोमा २१० जना अर्थात ८.२० प्रतिशत २० बर्ष मुनिका रहेका थिए । गर्भ जाँच गराएकामा सुरक्षित प्रसूति सेवा ८८२ जनाले लिएकोमा ९२४ जनाले सुरक्षित गर्भपतन गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख  केशव चापागाईंले जानाकारी दिनुभयो । 

सुरक्षित प्रसूति सेवा लिने मध्ये २० वर्ष भन्दा कम उमेरका १०९ अर्थात् १२.३५ प्रतिशत गरेका छन् भने ४३ जना अर्थात् ४.३५ प्रतिशत २० बर्ष मुनिकाले गर्भपतन गरेको चापागाईले बताउनुभयो । यो तथ्याङकमा हेर्दा २० बर्ष नपुग्दै विहे गर्नेको संख्या अत्याधिक रहेको देखिएको चापागाईले बताउनुभयो ।

 सुरक्षित प्रसूति सेवा लिनेमा दक्ष प्रसूतिकर्मीबाट ६९५ जना, दक्ष स्वास्थ्यकर्मीबाट १६८ जना, अन्य स्वास्थ्यकर्मीबाट १३ जना र छ जना घरमै प्रसूति सेवा लिने रहेका छन् । 

यस्तै गर्भपतन गराउने मध्ये मेडिकलबाट १२ हप्ता मुनिको गर्भपतन गराउने  ८४१ जना, सर्जिकलबाट ८१ जनाले गराएका छन् भने १२ हप्ता माथिको सर्जिकलबाट दुई जनाले गर्भपतन गराएका छन् । यहाँ गर्भ जाचँ गराउने मध्ये ७५३ जनाले प्रसूति र गर्भपतन कहाँ गरे जिल्लामा तथ्याङ् नदेखिएको हो । सेवाको हिसाबले पायक पर्ने पाल्पा, गुल्मी र पोखरा जादाँ जिल्लामै सबैले गरेका विवरण नभएको बताउदै चापागाईले जोखिम कम गर्न ठुला अस्पतालमा लगिएको हुन सक्ने बताउनुभयो । 

यस्तै यहाँका पालिकाले एम्बुलेन्स निःशुल्क दिदाँ र रेफरको हिसाबले पनि बाहिर गरेको हुन सक्ने चापागाईले बताउनुभयो । गर्भपतन गर्नेहरु पनि चिनेको भन्दा नचिनेका ठाउँमा पुगेर गरेको हुन सक्ने अनुमान उहाँले गर्नुभयो । सुरक्षित प्रसूति सेवा र गर्भपतन जिल्ला अस्पताल, पालिका स्तरका छ वटा अस्पताल, दुई प्रथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरेर १२१ स्वास्थ्य संस्थामा  सेवा उपलब्ध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्