स्याङ्जाको गल्याङ नगरपालिकाको सेवा प्रवाहप्रति सेवाग्राहीहरु सन्तुष्ट देखिएका छन् । नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रमका लागि गरिएको सर्बेक्षणमा नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माणप्रति सेवाग्राही सन्तुष्ट देखिएका हुन् ।
बैशाख ५ गते देखि २२ गते सम्म १ सय ९ जना सेवाग्राहीमा गरिएको सर्बेक्षणमा ९१ जनाले नगरपालिकाको सेवाप्रवाह सम्बन्धमा सन्तुष्ट रहेको बताएका छन् । गल्याङ नगरपालिकाको सार्बजनिक सुनुवाईको सहजकर्ता संस्था गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जले गरेको सर्वेक्षणमा बहुसंख्यकले नगरपालिकाको सेवाप्रवाह प्रति सन्तुष्ट रहेको बताएका हुन् ।
गल्याङ एफएमले गल्याङ नगरपालिकाका ११ वटै वडामा पुगेर नगरपालिकाको विकास निर्माण तथा सेवा प्रवाहका सम्बन्धमा सर्बेक्षण गरेको थियो । नागरिक प्रतिबेदन अन्तर्गत सन्तुष्टि वा असन्तुष्टी जनाउने सर्बेक्षणको ‘तपाईले नगरपालिकाबाट समग्रमा कत्तिको सन्तुष्टि पाउनुभयो’ भनेर सोधिएको प्रश्नमा ९१ जना सेवाग्राहीले ‘सन्तुष्ट’ भएको बताएका छन् । यस्तै, १० जनाले ‘ठीकै’ भन्ने जवाफ दिएका छन् भने ८ जनाले ‘असन्तुष्ट’ रहेको बताएका छन् ।
यस्तै सेवा दिने कर्मचारीको व्यवहार प्रति पनि सेवाग्राहीले सन्तुष्टि जनाएका छन् । सर्बेक्षणमा सहभागी एक सय ९ जना मध्ये सबैले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नु नपरेको बताएका छन् ।सर्बेक्षणमा सहभागी सेवाग्राहीहरुले नगरपालिकाबाट प्रवाह भैरहेका योजनाहरु, विल भूक्तानी प्रक्रिया, प्राविधिकहरुको सहयोगको अवस्था, स्थानीय निकायको आचारसंहिता पालना सहितका सबै प्रश्नावलीमा धेरैजसो नागरिकले सकारात्मक जवाफ दिएका छन् । सेवाग्राहीहरुले सार्बजनिक सुनुवाई कार्यक्रम भने धेरै प्रभावकारी नभएको टिप्पणी गरेका छन् । सर्वेक्षणमा सहभागी सेवाग्राहीहरुले समग्र नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम एक ठाउँमा गर्दा अन्य धेरै ठाउँका नागरिक छुट्ने गरेको गुनासो गर्दै वडा वडाको छुट्टाछुट्टै सार्बजनिक सुनुवाई गर्न सुझाब दिएका छन् । सर्बेक्षणमा सहभागी १६ वर्ष देखि ७५ वर्ष उमेर समूहका ४७ पुरुष र ६२ महिलाले कार्यालयको वातावरण र कर्मचारीहरु मिलनसार भएको बताएका छन् ।
सर्वेक्षणमा सहभागीहरुले योजनामा कच्ची सडक र खानेपानीलाई जोड दिनुपर्ने, ग्रामिण सडकहरु अझै व्यवस्थित बनाउनुपर्ने, नगरपालिका परिसरमा चमेना गृह क्यान्टिन पनि सञ्चालन हुनुपर्ने लगायतका सुझाब दिएका छन् । यस्तै, सेवाग्राहीको सर्बेक्षणमा सहभागीहरुले नगरपालिकाबाट तालिम लिएकाहरुले अरुलाई दिएर अभ्यास गर्नुपर्ने पनि बताएका छन् । सर्बेक्षणमा सहभागीहरुले गल्याङ नगरपालिकाको तर्फबाट भैरहेका योजना सम्झौता घुम्ती शिबिर, कृषकसँग कृषि प्राविधिक कार्यक्रम तथा स्वास्थ्य शिबिर कार्यक्रमको प्रशंसा गरेका छन् ।
१८ दिनको सर्बेक्षण पछि नगरपालिकाले प्रवाह गरिरहेका सेवा सुविधाबारे जानकारी दिन नगरपालिकाको दोश्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गामा रहेको वडा कार्यालय परिसरमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको चौमासिक अवधिको सार्बजनिक सुनुवाई भएको हो । कार्यक्रममा गल्याङ नगरपालिकाको सेवा प्रवाहका बारेमा सहभागीहरुले प्रत्यक्ष प्रश्न तथा सुझाबहरु दिएका छन् ।
प्रश्नको जवाफ दिदै गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले रचनात्मक सुझाबहरु ग्रहण गर्ने बताउनुभयो । उहाँले सीमित स्रोत र साधानका बाबजुत नगरपालिकाले अधिकतम सेवा प्रदान गर्न र विकास निर्माणलाई गति दिन लागि परेको बताउनुभयो । नगरप्रमुख भट्टराईले बसौं बसौं लाग्ने ठाउँ बनाउँदै बसाइसराई रोक्नका लागि नगरले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याइरहेको जानकारी दिनुभयो ।उहाँले नगरका कुनै पनि योजनामा कुनै आस्था वा अन्य कारणले विभेद नगरिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले नगरको सबै क्षेत्रमा विकास गर्नका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गल्याङ नगर कार्यपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता थियो ।कार्यक्रमको सञ्चालन गल्याङ सञ्चार प्रा.लि गल्याङ एफएम ९२.२ मेगाहर्जका सञ्चालक के.पी. खनालले गर्नुभएको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com