वालिङ नगरपालिकाले स्याङ्जाको चर्चित गह्रौँसुर मन्दिरको दशैंको आयव्यय सार्वजनिक गरेको छ। आइतबार वालिङ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको विवरण अनुसार मन्दिरमा करिब ९ लाख रूपैयाँ बचत भएको छ। राजनीतिक द्वन्द्वका कारण मन्दिर व्यवस्थापन समिती गठन हुन नसकेपछि गल्याङ नगरपालिका र वालिङ नगरपालिकाको सिमानामा रहेको गह्रौँसुर मन्दिरको आयव्याय अभिभावकीय भूमिका निर्वाह गर्दै वालिङ नगरपालिकाले आयव्यय सार्वजनिक गरेको हो। मन्दिर पुजा व्यवस्थापन समिति संयोजक युगमाया पंगेनी र नगर उपप्रमुख कविता तिवारी गैह्रेको उपस्थितिमा पत्रकारहरूमाझ आम्दानी र खर्च विवरण सार्वजनिक गरिएको हो।

दशैँको घटस्थापना (असोज ६ गते) देखि पञ्चमी (असोज २५ गते)सम्म संकलित रकमको आयव्याय सार्वजानिक गरिएको हो । सार्वजानिक गरिएको आयव्याय विवरण अनुसार दशैंको अवधिमा मन्दिरमा १९ लाख १९ हजार ९१ रुपैँया आम्दानी भएको थियो जसमा १० लाख ४५ हजार ५३६ रुपैँया खर्च भएको छ । सम्पूर्ण खर्च कटाएर मन्दिरले करिब ८ लाख ७३ हजार बचत गरेको छ।
खर्चमा पण्डित तथा पुजारी दक्षिणा ८० हजार ८ सय १०, पाठ पण्डित दक्षिणा १५ हजार १५, श्रमिक ज्याला २ लाख १३ हजार ६ सय ५०, खानपान सामानमा २७ हजार ९ सय २५, पुजाभोग वस्तु खरिदमा ८३ हजार १ सय ५०, सरसफाई समान ५ हजार ७४०, विविध सामान ढुवानीमा ९ हजार ९ सय , इन्धन ग्याँस खरिदमा १७ हजार ६ सय ८५, दाउरा खरिदमा १६ हजार १ सय ५०, पाठा तथा पाडा सफाई ज्याला १ लाख ४६ हजार ८०, विद्युतिय समान ७६ हजार ४२, रंगरोगनको सामान खरिदमा ३० हजार ७ सय ६१, खानेपानी २१ हजार ९ सय ८६, कर्मचारी तलब तथा भत्ता १ लाख ४५ हजार, विविध समान खरिद ३२ हजार २ सय ७०, पेट्रोल २ हजार ४सय ६, मन्दिर रंगरोगन ज्याला १० हजार २ सय , दशैँ शुभकामना प्रसार १हजार ५ सय , मन्दिरको बाजा मर्मत ५ हजार, सिसिटिभि क्यामेरा ७३ हजार ६ सय , मोटर पम्प १३ हजार १ सय ६४, विभिन्न मुर्तिहरुको कपडा खरिद १७ हजार ५ सय गरी १० लाख ४५ हजार ५ सय ३६ रुपैँया खर्च भएको विवरण नगर उपप्रमुख तिवारीले सार्वजनिक गर्नुभयो।
नगर उपप्रमुख तिवारीका अनुसार आम्दानीतर्फ परेवा बिक्रिबाट १ लाख ४५ हजार ६ सय, पाठाको टाउको विक्रिबाट ४ लाख ३४ हजार ६ सय , पाठा तथा पाडा सफाईतर्फ २ लाख २४ हजार ७ सय ५०, मन्दिरको भेटि ६ लाख २ हजार ७ सय १०, सहयोग रसिद ४५ हजार ९ सय २६, पँचौली रसिद ३२ हजार ५, दानपेटिका १ लाख २८ हजार ३ सय ९५, ठेक्का बापत ३ लाख ५ हजार १सय ५ गरी १९ लाख १९ हजार ९१ रुपैँया आम्दानी भएको थियो।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले गह्रौँसुर धार्मिक आस्था र पर्यटनको केन्द्र भएकाले समिति नयाँ निर्माण हुन नसकेपछि वालिङ नगरपालिकाको प्रत्यक्ष निगरानीमा व्यवस्थित रूपले दशैंको पूजाआजा सम्पन्न गरिएको बताउनुभयो। सम्पूर्ण हिसावकिताब व्यवस्थित र पारदर्शी भएको दाबी गर्दै उपप्रमुख तिवारीले मन्दिरसम्म भक्तजन र पर्यटकलाई सहज रूपमा आवतजावत गर्न अटो भाडादरमा एकरूपता ल्याउने र सडक मार्गलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाको प्रत्यक्ष निगरानी भएपछि भक्तजनका लागि उपलब्ध सेवाहरूको मूल्य सुपथ हुनुका साथै एकरूपता आएको र पार्किङ समेत व्यवस्थित भएको उहाँको भनाई छ। उहाँले बचत रकम मन्दिरको आधिकारिक बैंक खातामा जम्मा गरिएको जानकारी दिनुभयो।