नेभिगेशन
स्वास्थ्य

बिरुवा आधारभूत अस्पतालको समुद्घाटन

बिरुवा गाउँपालिकामा नवनिर्मित बिरुवा अस्पतालको उद्घाटन भएको छ। गाउँपालिकाले वडा नं. ६ चिन्नेवासमा निर्माण गरिएको अस्पतालको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकले आइतबार उद्घाटन गर्नुभएको हो। उहाँले अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधारको विकास र   सेवा विस्तारको लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आधारभूत अस्पतालमा  ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो, एक्स–रे तथा CBC, LFT, RFT लगायतका प्रयोगशाला परीक्षण सेवाहरू उपलब्ध छ्न् ।

गाउँपालिका  अध्यक्ष सूर्य बहादुर कुँवरले भन्नुभयो "गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्न अस्पताल स्थापना गरिएको हो ।" उहाँले थप्नुभयो, “हामीले अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट थप सुदृढ बनाउँदै लैजाने छौँ, जसले बिरुवाको जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउनेछ । ग्रामीण क्षेत्रका  बासिन्दालाई सहज र गुणस्तरीय उपचार प्रदान गर्नु अस्पताल सञ्चालनको मुख्य उद्देश्य हो।"

अस्पतालमा हाल एम.वि.वि.एस. डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन,  स्टाफ नर्स, अनमी, अहेव र फर्मेसी सुपरभाइजर गरी नौ जना स्वास्थ्यकर्मी खटाइएका छन् । 

सविक चिन्नेवास गा.वि.स. थाँतथलो रहि हाल नेपालका विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको "सामाजिक विकासका लागी सहयोगी हातहरु" नामक संस्थाले अस्पताल सञ्चालनको लागी सुविधा सम्पन्न भवन निर्माण गरि सोहि स्थानमा रहेको चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो । अहिले सोहि भवनमा अस्पताल सञ्चालन गरिएको छ । अस्पताल सञ्चालनका लागी आवश्यक पर्ने थप भौतिक पूर्वाधार भने गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण सम्पन्न गरेको थियो । 

स्थानीयवासीहरूका अनुसार, अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि समेत पोखरा लगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । विशेषगरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता आएको छ । गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवाहरु थप गरि अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको जनाएको छ, जसले बिरुवाबासीको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्