नेभिगेशन
स्वास्थ्य

अर्जुनचौपारीमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिका र  खुमा अर्याल फाउन्डेसनको सहकार्यमा  पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा स्वास्थ्य  शिविर सञ्चालन गर्ने भएको हो ।गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो  ।

शिविरमा मुटु तथा मृगौलासम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा उपलब्ध गराइने र आवश्यक औषधि समेत निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ । जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनेछ भने इको, इसिजी र अन्य आवश्यक प्रयोगशाला परीक्षणहरू पनि निःशुल्क गरिने व्यवस्था गरिएको छ । शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँच, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इको, इसिजी तथा विविध ल्याब सेवा समेत नि:शुल्क उपलब्ध हुनेछ ।

जटिल स्वास्थ्य समस्या देखिएर शिविरमार्फत रिफर गरिएका बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरामा औषधिमा ५ प्रतिशत र उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष शर्माले बताउनुभयो ।पुस ५ गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि सबैलाई सहभागी हुन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आग्रह गर्नुभएको  छ ।खुमा अर्याल फाउन्डेसन विगत सात वर्षदेखि सामाजिक तथा राहतका क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्